Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

जर्ज मन्सी र साम हिजलेट नेपाल आइपुगे, एनपीएलका लागि विराटनगर किङ्सको तयारी तिव्र

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ नजिकिँदै गर्दा विराटनगर किङ्सले दुई चर्चित अन्तर्राष्ट्रिय क्रिकेट सितारा (स्कटल्याण्डका आक्रामक ओपनर जर्ज मन्सी र अष्ट्रेलियाली ब्याट्सम्यान साम हिजलेट)लाई स्वागत गर्दै टोली तयारीलाई तिव्र पारेको छ। दुवै खेलाडी आज काठमाडौं आइपुगेका छन् र औपचारिक रूपमा टोलीसँग प्रशिक्षण सुरु गरेका छन्।

मन्सीले थपे आक्रमकता र अनुभव

स्कटल्याण्डका लागि टी-२० र एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा आएका मन्सी तीव्र स्ट्राइक रेट, विस्फोटक ब्याटिङ र निरन्तरताका लागि परिचित छन्। नेदरल्याण्डविरुद्धको टी-२० शतक तथा विभिन्न आईसीसी क्वालिफायरमा उल्लेखनीय योगदानले उनले आफूलाई विश्वस्तरका टप-अर्डर ब्याट्सम्यानका रूपमा स्थापित गरिसकेका छन्।

उनको आगमनले विराटनगर किङ्सको शीर्ष क्रममा शक्ति, गतिशीलता र अन्तर्राष्ट्रिय स्तरको अनुभव थपिएको छ।

साम हिजलेटले दिन्छन् स्थिरता र स्ट्रोकप्ले

अष्ट्रेलियाली बिग ब्यास लिग (बीबीएल) मा ब्रिस्बेन हीट र होबार्ट हरिकेन्सका प्रमुख अनुहार बनेका साम हिजलेट सौन्दर्यपूर्ण बाँयाहाते स्ट्रोकप्ले, इनिङ्स निर्माण क्षमता र आक्रमक मानसिकताका लागि चिनिन्छन्।

उनको समावेशले किङ्सको मध्य तथा शीर्षक्रम दुवै मजबुत हुने विश्वास क्लबले व्यक्त गरेको छ।

स्टार-स्टडेड स्क्वाडसहित उपाधि लक्ष्य

दुवै खेलाडीको आगमनसँगै विराटनगर किङ्स यसपटक मार्टिन गुप्टिल, फाफ डु प्लेसिस लगायतका अन्तर्राष्ट्रिय स्टार र उदाउँदो नेपाली प्रतिभाको संयोजनमा बनेको बलियो टोली लिएर मैदान उत्रँदैछ। यसले किङ्सको उपाधि जित्ने लक्ष्यलाई अझ ठोस आधार प्रदान गरेको क्लबको दाबी छ।

विराटनगर किङ्स, कोशी प्रदेशको प्रतिनिधित्व गर्ने एनपीएल फ्रेन्चाइज हो। स्थानीय प्रतिभा पहिचान, खेलको विकास तथा समुदायसँग प्रत्यक्ष जोड कस्ने उद्देश्यसहित किङ्स नेपाली क्रिकेटमा पहिलो रोजाइ बन्ने लक्ष्यका साथ अघि बढिरहेको छ।