सहिद लखन गाउँपालिका–७, बुङकोटमा हाल शिक्षा सुधारका लागि उत्साहजनक कामहरू भइरहेका छन्। वडा कार्यालयको विशेष पहलमा श्री सहिद स्मृति माध्यमिक विद्यालय, बुङकोटका कक्षा–१० का विद्यार्थीहरूका लागि सञ्चालन भइरहेको SEE–२०८२ पूर्व तयारी कक्षा र तीन महिनाको खाजा–खाना कार्यक्रम सफलतापूर्वक अघि बढिरहेको छ।

यो अभियानलाई अझ सबल बनाउन बुङकोटमै जन्मेर अहिले काठमाडौँमा पर्यटन व्यवसायमा संलग्न सफल व्यवसायी, समाजसेवी र शिक्षाप्रेमी नवराज अंगाईले विद्यालयका विद्यार्थीहरूका लागि रु. १,७७,२७५/- बराबरको खाद्यान्न सामग्री सहयोग गरेका छन्।

सो सहयोग एक विशेष समारोहबीच विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष शरण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बिक, शिक्षक–अभिभावक संघका अध्यक्ष मिस्टर बाबु श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक रोहोणी प्रसाद खनाल, कार्यक्रम सञ्चालक शिक्षक अनुप श्रेष्ठ, अन्य शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति थियो।
विद्यालयका अनुसार, यो सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह, प्रेरणा र आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको छ। वडाध्यक्ष श्रेष्ठले भनेका छन्, “शिक्षा नै उज्यालो भविष्यको आधार हो, र नवराज अंगाईजस्ता समाजसेवीहरू नै त्यो उज्यालोको बाटो देखाउने दीप हुन्।”

सहिद लखन गाउँपालिका वडा नं. ७, बुङकोट कार्यालयले नवराज अंगाई र उनको परिवारप्रति मनैदेखि आभार प्रकट गर्दै आगामी दिनमा अझ धेरै सफलता र प्रगतिका लागि शुभकामना व्यक्त गरेको छ।