Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

पञ्चकन्यासहित चार उद्योगले तिरे विद्युत महसुल बक्यौताको किस्ता, काटिएको लाइन जोडियो

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा सञ्चालित चार उद्योगले  प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् ।

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् । पहिलो किस्ता तिरेपछि उद्योगहरुको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् । 

उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् । पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको  १ करोड  ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैर्या बक्यौता रहेको छ ।

बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरुले पहिलो किस्ता तिरेका छन् ।