Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

अविरल वर्षाले देशका प्रमुख राजमार्ग अवरुद्ध, पूर्वका सडकखण्डमा आवागमन पूर्णरूपमा ठप्प

निरन्तर वर्षापछि देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा पूर्वका दर्जनौँ जिल्ला सडक सम्पर्कविहीन भएका छन्।

नेपाल प्रहरीका अनुसार धनकुटापाँचथर सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरानधनकुटामूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। खोलाले सडकको ठूलो भाग बगाउँदा सवारी आवागमन ठप्प भएको र वैकल्पिक मार्ग प्रयोग गर्न सकिने अवस्था पनि नरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पनि पहिरो र जमिन भासिँदा सडक अवरुद्ध भएको छ। गत असोजमा आएको बाढीपहिरोपछि अस्थायी रूपमा मर्मत गरी सञ्चालनमा ल्याइएको सो सडक पुनः अवरुद्ध भएपछि इलाम र झापाबीचको यातायात सम्पर्क विच्छेद भएको हो।

मोन्था चक्रवातको आंशिक प्रभाव को कारण इलामसहित कोशी प्रदेशका पहाडी जिल्लामा थप जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझदेखि नै सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।

यसैबीच, बीपी राजमार्ग पनि निरन्तर वर्षाका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। राजमार्गअन्तर्गत चौकीडाँडा, नाङसाल क्रसर, बोक्सीकुना र माम्ती क्षेत्रमा पहिरो र लेदो खसेपछि यातायात पूर्ण रूपमा रोकिएको हो।

प्रहरीका अनुसार अवरोध हटाउने कार्य भइरहेको छ, तर लगातारको वर्षाले उपकरण सञ्चालन र मर्मत कार्यमा कठिनाइ भएको छ।

स्थानीय प्रशासन र प्रहरीले यात्रुहरूलाई आवश्यक नपरी यात्रा नगर्न, उच्च भूभाग र नदी किनारमा नजान, र सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। मौसमविद्हरूले अझै केही दिनसम्म देशका पूर्वी र मध्य पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।