आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहीबार बिहान ११ बजेर १५ मिनेटमा दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुनेछ।
अमेरिकासँग पहिलो खेलमा पराजित भएको नेपालका लागि आजको खेल अत्यावश्यक जितको रूपमा हेरिएको छ। लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई एक सय ६ रनले हराएको थियो।
यसैबीच, मंगलबार राति अमेरिकाले यूएईलाई चार विकेटले पराजित गरेपछि तालिकाको शीर्षस्थानमा उक्लिएको छ। अमेरिकाले नेपाल र आयोजक यूएई दुवैलाई हराउँदै लिगमा आफ्नो बलियो स्थिती कायम गरेको छ।
नेपालले अमेरिकाविरुद्धको खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरेकोले आज यूएईविरुद्ध बल्लिङ र ब्याटिङ दुवै क्षेत्रमा सुधार गर्नुपर्ने दबाब रहेको छ। नेपालले आजको खेलपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार यूएईसँग खेल्नेछ।
हालसम्म लिग–२ मा नेपालले १७ खेलमा १२ अंक जोडेको छ भने समान खेल खेलेको यूएईको ६ अंक मात्र छ। नेपाल तालिकाको सातौँ स्थानमा छ भने यूएई आठौँ स्थानमा रहेको छ। २२ खेल खेलिसकेको अमेरिका भने ३२ अंकसहित दोस्रो स्थानमा छ।