Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपाल इरानसँग ३–० ले पराजित

भारतमा जारी त्रिदेशीय महिला फिफा मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको छ।

शुक्रबार सिलोङस्थित जवारलाल नेहरू रंगशालामा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा इरानले खेलको सुरुवातमै लगातार तीन गोल गर्दै सहज जित हात पारेको हो।

खेलको ४९औँ मिनेटमा इरानकी साराले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। उनले गोलकिपरको लङ बलमा नेपाली डिफेन्डर बिमला विक र गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बिट गर्दै पहिलो गोल गरिन्।

त्यसपछि ५२औँ मिनेटमा कप्तान जेहरा गाबारीले डिबक्स बाहिरबाट दिएको फ्रिकिकलाई उत्कृष्ट गोलमा परिणत गर्दै टोलीको अग्रता दोब्बर बनाइन्।

खेलको ५७औँ मिनेटमा सबनामले टोलीका लागि तेस्रो गोल गर्दै इरानको जित पक्का गरिन्। नेपालले अब आफ्नो दोस्रो खेल आयोजक भारतसँग कार्तिक १० गते खेल्नेछ।