Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

रामेछापमा मध्यपहाडी लोक मार्ग निर्माण सकिने बत्तिकै धसियो

पूर्वलाई राजधानीसँग जोड्ने छोटो मार्ग बिपी राजमार्गको वैकल्पिक मार्गको रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत कोथवे–लुभु–डहु डोजरडाँडा ११ किलोमिटर सडक खण्ड काम सकिने बित्तिकै धसिएको छ ।  गएको असारमा निर्माण सम्पन्न भएको सो सडक ठाउँ ठाउँमा भासिएको सुनापति गाउँपालिका–४ का राज मैनालीले जानकारी दिए । सो सडकको करिब ५ किलोमिटरभन्दा बढी हिस्सा पैरो र भासले क्षति ग्रस्त भइसकेको मैनालीले जनकारी दिए ।

गुणस्तरहीन निर्माण र  कमजोर प्राविधिक स्टिमेटका कारण सो सडक बनाउने बित्तिकै भत्किएको मैनालीले बताए । यसबाट जनताको करको दुरुपयोग भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको मैनालीले गुनासो गरे ।

उनले स्थानीयलाई यस्तो निर्माण कार्यको खबरदारी गर्न र दिगो निर्माणको पहल गर्न पनि आह्वान गरे । गुणस्तरीय र दिगो निर्माण नहुँदा आवागमनमा नै जोखिम बढेको उनले बताए ।

यस विषयमा पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय रामेछापका सूचना अधिकारी हर्कबहादुर प्रधानले माथिबाट पानी बगेको कारण सडक धसिएको र त्यसको मर्मत गरिने जानकारी दिए ।