ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नौ वर्षअघिको तिहार स्मरण गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमार्फत तिहारको शुभकामना दिँदै उनले २०७३ सालको दिपावली स्मरण गरेका हुन् । त्यतिबेला उनी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक थिए । कुलमानकै पहलमा नेपाल लोडसेडिङमुक्त भएको थियो ।
‘दिपावलीको दिन ९ वर्ष अगाडी लोड सेडिङ अन्त्यको सुरूवाती दिन भएकोले हामी सबैको लागि अझ विशेष दिन बन्न गएको छ’ उनले लेखेका छन्, ‘२०७३ सालअघि १६ देखि १८ घण्टासम्म लोडसेडिङ हुने गर्थ्यो, जब म नेपाल विद्युत प्राधिकरणमा आबद्ध भएँ, २०७३ साल तिहारको लक्ष्मीपूजा दिनदेखि काठमाडौंमा मैले लोडसेडिङमुक्त घोषणा गरेँ ।’
घिसिङ सामाजिक सञ्जालमा लेख्छन्, ‘२०७३ साल अन्त्यतिर नेपालभरी नियमित लोडसेडिङ अन्त्य भयो । आज ९ वर्ष भयो्, देश अन्धकारबाट उज्यालो तर्फ लागेको, सम्पूर्ण नेपाली जनता, देशवासीलाई आज पर्न गएको दिपावलीको मंगलमय शुभकामना।’
यस्तै, उनले लक्ष्मीपूजाको राति काठमाडौंको झिलिमिली तस्बिर राख्दै भनेका थिए, ‘जति रात छिप्पिँदै गयो त्यति नै, बिजुलीको चमक र झिलिमिली ।’ लक्ष्मी पूजाको साँझ कात्तिक ३ गते (साँझ ६ः५० बजे) देशभर विद्युतको उच्च माग १६५० मेगावाट पुगेको थियो । सो समयमा नेपालबाट १०१५ मेगावाट विद्युत निर्यात गरिएको थियो ।
यसरी, आन्तरिक माग र निर्यात गरी कुल विद्युत उत्पादन २६६५ मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।