Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

प्रहरी केनाईन कार्यालयमा कुकुर पूजा, यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’

यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा सोमबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले सोही कार्यालयको प्रांगणमा रहेको प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुरेका थिए । यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ लाई पुरस्कृत समेत गरे । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उनले पुरस्कार प्रदान गरे ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाईन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाईन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजानुपर्ने बताए । 

कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए ।  नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमूखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । 

कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत  संचारकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।