गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभएपनि आफूहरू नै राज्य जस्तो गरेर केही व्यक्ति हिँडिरहेको भन्दै आपत्ति जनाएका छन् ।
सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग राख्दै आमरण अनसन बस्दै आएका अछामका मदन बुढाको आज अनसन तोडाउँदै गृहमन्त्री अर्यालले आफूलाई राज्य मान्नेहरूमाथि ‘उपचार’ गर्ने चेतावनी दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेततर्फ लक्षित गर्दै उनले ‘बकबक गरेर नहिँड्न’ चेतावनी दिए ।
उनले भने, ‘के कारणले मानिसहरू बकबक गरिरहेका छन् अहिले पनि ? सरकारमा नभए पनि सेनामेना हेर्नुस् न कति जना लिएर हिँड्दा रहेछन् । एउटा मान्छेको पछाडि ५२ जना हुँदोरहेछ कतिपयको ४७ जना हुँदोरहेछ । आइ एम द स्टेट भनेर कसरी भनेका रहेछन् उनीहरूले ।’
सरकार फेरिए पनि कतिपयमा अझै पनि सरकारमै रहेको जस्तो व्यवहार देखिएको भन्दै उनले त्यो विकृति हटाउन क्रियाशील रहेको बताए ।
‘सरकारमा नभए पनि म त सरकारमै छु जस्तो, म नै राज्य हुँ जस्तो जुन खालको आइरहेको थियो त्यो सरकारले अर्गानिक–वेमा ट्रिटमेन्ट गरिरहेको छ,’ मन्त्री अर्यालले भने, ‘त्यो विकृत हो, त्यो रोग हो । त्यो रोगको ट्रिटमेन्ट अर्गानिक–वे (मौलिक तरिका) मा गरिरहेका छौं हामी ।’
पूर्वप्रधानमन्त्री ओलीले गृहमन्त्री अर्याललाई ‘गृहमन्त्री बाबु धेरै नचम्कनु’ भनेका थिए भने महेश बस्नेतले आफूलाई पक्राउ गरेर देखाउन चुनौती दिएका थिए ।