Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

सन्दीपको पाँच विकेट र अन्तिम ओभरको जादुमा नेपालको रोमाञ्चक जित, कतार ५ रनले पराजित

उत्कृष्ट प्रदर्शन गर्दै स्पिनर सन्दीप लामिछानेले पाँच विकेट लिँदा नेपालले आईसीसी टी२० विश्वकप एसिया तथा इस्ट एसियाप्यासिफिक छनोट सुपर६ को खेलमा कतारमाथि ५ रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

कतारले नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा १९.५ ओभरमा १४२ रनमा अलआउट भयो। खेलको अन्तिम ओभरमा सन्दीपले १० रन जोगाउँदै नेपाललाई शानदार जित दिलाए।

Screenshot 2025-10-14 001251.png
undefined

कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ५५ रन बनाए भने जुबेर अलीले ५२ रनको योगदान दिए। तर अन्य ब्याटरबाट उल्लेख्य साथ नपाउँदा कतार पराजित भयो।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए। नन्दन यादवले २ विकेट, र दीपेन्द्र सिंह ऐरीले १ विकेट हात पारे। खेलमा नेपालले पुनः एकपटक नाटकीय रूपमा पुनरागमन गरेको हो। निर्णायक क्षणमा दीपेन्द्र सिंह ऐरी र आदिल आलमका रनआउटहरूले खेलको दिशा नेपालतर्फ मोडेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको अर्धशतकीय पारी खेले। यस्तै, दीपेन्द्र सिंह ऐरीले २१ बलमा २६ रन, र गुल्शन झाले ८ बलमा १६ रनको तेज पारी खेले।

कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट, डानियल लुइसले ३ विकेट, र मुहम्मद असिमले १ विकेट लिएका थिए।

नेपालले यसअघि सुपर सिक्सको पहिलो खेलमा यूएईलाई पराजित गरेको थियो। लगातार दोस्रो जितसँगै नेपाल विश्वकपमा प्रवेश गर्ने सम्भावनालाई थप बलियो बनाएको छ।