Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको छ।

बैंकका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले लेखा परीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट विवरण लगायतका वित्तीय विवरण सर्वसम्मतिले पारित गरेको छ। त्यस्तै, आगामी चार वर्षका लागि सञ्चालक समितिमा संस्थापक समूहबाट सुदीप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका छन्।

सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्न एन.बी.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ। कार्यक्रममा शेयरधनीहरूले राखेका प्रश्नहरूको उत्तर अध्यक्ष आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए। थकालीले बैंकले विगतमा निरन्तर दोहोरो अंकमा लाभांश वितरण गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई अझ दिगो र नाफामुखी बनाउन प्रतिबद्धता व्यक्त गरे।