नेपालले टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुरुआत शानदार जितसँगै गरेको छ। बुधबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ रनको सानदार जित निकाल्दै सुपर–६ चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
नेपालले पहिलो इनिङमा २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। जवाफी ब्याटिङमा कुवेत १८.१ ओभरमा जम्मा ८३ रनमै समेटियो।
भुर्तेलको अर्धशतक, बलरहरूको सामूहिक प्रदर्शन
नेपालका ओपनर कुशल भुर्तेलले संयमित तर प्रभावशाली ब्याटिङ गर्दै ५६ बलमा ६६ रन जोडे। उनले तीन चौका र तीन छक्का प्रहार गर्दै इनिङ्सको अन्तिम ओभरसम्म क्रिज सम्हाले। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो भुर्तेलको १२औँ अर्धशतक हो।
गुल्सन झाले ६ बलमै तीन छक्का हान्दै २० रन बनाए भने दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले क्रमशः २० र १६ रनको योगदान गरे।
बलिङतर्फ, नेपालले सामूहिक प्रदर्शन ग¥यो। सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहितकुमार पौडेलले समान २ विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक–एक विकेट लिएर कुवेतको ब्याटिङ लाइन–अप धराशायी पारे।

कुवेत निरुत्साहित, तीन ब्याटर शून्यमा आउट
कुवेतका ओपनर क्लिन्टो एन्टोले २६ र यासिन पटेलले १९ रन बनाए पनि अन्य ब्याटर संघर्ष गर्न सकेनन्। तीन खेलाडी शून्य रनमै आउट भए। नेपालले बलिङ र फिल्डिङ दुबैमा उत्कृष्ट समन्वय देखायो।