Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

टी–२० सिरिजमा नेपालको सानदार पुनरागमन, मलेसियामाथि ६ विकेटको जित

अन्तर्राष्ट्रिय टी-२० महिला क्रिकेट सिरिजको चौथो खेलमा नेपालले मलेसियामाथि ६ विकेटको सानदार जित हात पारेको छ।

पहिले ब्याटिङ गरेको मलेसियाले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १११ रन बनाएको थियो। टस जितेर ब्याटिङ रोजेको मलेसियाका लागि मास एलिसा सर्वाधिक ५६ रनको योगदान दिइन्। उनले ६३ बलमा पाँच चौका प्रहार गर्दै अर्धशतक पूरा गरेकी थिइन्।

नेपालका लागि कविता कुँवरले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १० रन मात्र खर्चेर तीन विकेट लिइन्। पूजा महतो र कविता जोशीले एक-एक विकेट हात पारे।

इन्दु बर्माको नटआउट ४८ रन

११२ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। कप्तान इन्दु बर्माले नटआउट ४८ रनको शानदार पारी खेलिन्। उनले ३९ बलमा पाँच चौका प्रहार गरिन्।

indu barma.jpg
undefined

रुबिना क्षेत्रीले कप्तानसँग ५७ रनको साझेदारी गर्दै २३ बलमा २३ रन जोडेकी थिइन्। दुबै नटआउट रहे।

मलेसियाका लागि आइन्ना हामीजाह, नूर दानियाँ र माहिराले एक-एक विकेट हात पारे।

सिरिजमा बराबरी

यसअघि पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो भने तेस्रो खेलमा १३ रनको हार व्यहोरेको थियो।

चौथो खेलको जितसँगै नेपालले पाँच खेलको सिरिज २-२ को बराबरीमा ल्याएको छ। सिरिजको निर्णायक खेल आगामी बुधबार हुनेछ।