Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

सरकार निजी क्षेत्रको मनोबल बढाउन क्रियाशील: अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर क्रियाशील रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालसँगको भेटमा मन्त्री खनालले सरकार निजी क्षेत्रमैत्री वातावरण बनाउन प्रयासरत रहेको धारणा व्यक्त गरे।

उनका अनुसार सरकारले पुनर्निर्माणका लागि राजस्व छुट, बैंकिङ सहुलियत र बीमामा सहजीकरणका कार्यक्रम अघि सारिसकेको छ। साथै, सन्दर्भ मूल्य खारेज गर्दै भन्सारमा अनलाइन डेटाबेस प्रणाली लागू गरिएपछि बजारमा पारदर्शिता र निष्पक्ष कारोबारमा सुधार आउने विश्वास व्यक्त गरे। निजी क्षेत्रका तिनै संस्थाका अध्यक्षहरूले सरकारको कदमको प्रशंसा गर्दै नयाँ डेटाबेस प्रणालीको प्रभावकारी उपयोग गर्न उद्यमी व्यवसायीलाई आग्रह गरे।

अर्थमन्त्री खनालद्वारा असोज ९ गते उद्घाटन गरिएको सो प्रणालीले हरेक ६ महिनामा सन्दर्भ पुस्तिकाको परिमार्जन गर्दै व्यवसायीको गुनासो समाधान गर्ने अपेक्षा गरिएको छ। भेटमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड र घुसपैठका कारण निजी क्षेत्र निरुत्साहित बनेको भन्दै यस्ता कार्यमा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए।

उनीहरूले निजी क्षेत्र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै जिम्मेवार ढंगले व्यवसाय गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै सरकारलाई पनि उद्यमी व्यवसायीले स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण बनाउन आग्रह गरे। साथै लगानी र स्रोत परिचालनका लागि निजी क्षेत्रको अगुवाइमा बहुपक्षीय वित्त सम्मेलन आयोजना गर्नु पर्नेमा पनि जोड दिए।