अवसर प्राप्त गरेमा जुनसुकै व्यक्ति पनि सङ्घर्षको भर्याङमा उक्लिन सक्छ। देशको निजी तहमा होस् अथवा सरकारी तहमा नै किन नहोस् दृष्टिविहिन भएका व्यक्तिहरू यतिबेला देशका विभिन्न तहतप्कामा कार्यरत छन्। यसैमध्ये कि एक हुन् सिन्धुपालचोक जिल्लाकी सीमा तामाङ। उनी बलेफि गाउँपालिका ३ धुस्कोटमा जन्मिएकी हुन्। जन्मजात आँखाको ज्योति गुमाएकी सीमाका भाइ पनि दृष्टिविहिन र अटिजमले प्रभावित छन्।
घरमा छोरा छोरी नै अपाङ्ग जन्मिएपछि आमा बुबाले सुरुमा पिर मानेको सीमाले बताइन्। पिछडिएको वर्गमा जन्मिएकाले वरपरको समाजले पनि परिवारमा घरिघरि पिँडा दिने गरेको सीमालाई मधुर सम्झना छ। दुई बहिनी र एक भाइ भएको परिवारमा उनी जेठी छोरी हुन्। सामान्य कृषक परिवारमा जन्मिएकी सीमा बुबा आमाले कृषिबाट जीवन धान्दै आफूहरूलाई हुर्काएको र अध्ययन गराएको बताइन्।
छिमेकी सरको सहयोगमा ६ वर्षकै कलिलो उमेरमा आमा बुबाको काख छोडेर सीमा सिन्धुपालचोकमा अवस्थित श्री वनदेवी माविको छात्रवासमा भर्ना भइन्। तामाङ समुदायको भएकाले आफूलाई सुरुमा होस्टेलमा संवाद गर्न निकै समस्या भएको उनले बताइन्। आफू बच्चा हुँदा तामाङ भाषा मात्र आउने नेपाली भाषा नआउने भएकाले भाषिक समस्या भएको अनुभव पनि सीमाले सुनाइन्। होस्टेलमा दाइ दिदीहरूको सहयोगले गर्दा ३/४ महिनापछि नेपाली भाषा बोल्न सहज भएको अनुभव छ। सीमा सृजनशील व्यक्ति समेत हुन्। पठनपाठनसँगै वादविवाद कविता वक्तृत्वकला जस्ता कार्यक्रमहरूमा सहभागिता जनाउँदा र पुरस्कार प्राप्त गर्दा निकै खुशी लागेको सीमाले बताइन् । १० वर्षसम्म श्री वनदेवी माविको होस्टेलमा आफूजस्तै साथीहरूसँग बस्दा धेरै कुरा सिकेको सीमासगँ अनुभव छ। साथीहरूसङ्ग खेल्दै र नयाँ कुरा सिक्दै बितेको समय आफ्ना लागि निकै अमूल्य थियो उनले भनिन्।
२०७४ सालमा एसईई उत्तीर्ण गर्दा आफूलाई भविष्यको ढोका खुलेजस्तै लागेको सीमाले बताइन्। उज्यालो भविष्य र सुन्दर सपना आँखामा राखेर राजधानी हानिएकी सीमा ललितपुरको आदर्श सौल युवक माविको छात्रावासमा बसेर १२ कक्षासम्मको अध्ययन पूरा गरिन्। र स्नातक तहका लागि भक्तपुरको ख्वापा क्याम्पसमा अंग्रेजी विषयमा बीएड गर्नका लागि भर्ना भइन्। त्यहीँ अध्ययन गर्ने सिलसिलामा शिक्षिका बन्ने चाहना उनिमा पलायो। समाजको दृष्टिकोण परिवर्तन गर्ने चाहना पनि बलियो हुँदै गयो र मैले शिक्षाबाट नै समाजको दृष्टिकोण परिवर्तन गर्नु पर्छ जस्तो लाग्यो उनले भनिन्। बीएड अध्ययनकै क्रममा शिक्षण अध्यापन अनुमति पत्रको तयारी गरेकि सीमा ले अनलाइन कक्षा र विभिन्न स्रोतहरूबाट पाठ्यपुस्तकहरू अध्ययन गर्दै २०८० सालमा निमावि तहको शिक्षण अध्यापन अनुमति पत्र प्राप्त गरिन्।
पहिलो पटक जाँच दिँदा अनि नाम निस्किँदा आफू र आमा बुबा अत्यन्तै खुशी भएको सीमाले बताइन्। सफलताको पहिलो खुड्किला पार गरे पनि चुनौतिका पहाडहरूले उनलाई अझै छोडेका थिएनन्। लेखन सहयोगी नपाउनु पाठ्यपुस्तकको कमी ओएमआर शीट लेखनको डर यी सबै समस्याले सीमालाई पोलि नै रह्यो तर उनले हार भने खाइनन्। अन्ततः लक्षमा पुगेरै छोडिन्। २०८१ सालमा शिक्षक सेवा आयोगको महिला कोटाबाट प्रावि तहमा नाम निकाल्न सफल भइन्। उक्त सफलताले आफू सहित परिवारलाई पनि निकै खुशी बनाएको सीमा ले बताइन्। विगत सम्झिँदै भन्छिन् 'मैले एकदिन जागिर खान्छु भनेर परिवारमा सपना बाँडिरहँदा बाबा आमालाई विश्वास दिलाउन सकिरहेकी थिइन तर नाम निस्किएपछि बाबा आमाले स्वतः विश्वास गर्नुभयो।'
जागिर नहुँदा छरछिमेकमा फलानाकी छोरीले केही गर्न सक्दिन भन्ने जस्ता कुरा सुन्नु परेको नमिठो अनुभव सीमाले सुनाइन् । अहिलेको आत्मनिर्भर अवस्थाले परिवारलाई समेत सघाउन सकिरहेको उनले बताइन्। काभ्रेपलाञ्चोक जिल्लाको काभ्रे चौंरी देउराली गाउँपालिका छेडामा रहेको श्री सरस्वति माध्यमिक विद्यालयमा सीमा अहिले बालबालिकालाई शिक्षाको ज्योती छरिरहेकी छन्। यसैवर्ष शिक्षा संकाय अन्तर्गत स्नातक तह पनि उत्रिण गरिसकेकी उनले स्नातकोत्तर गर्ने योजना पनि बनाएकी छन्।
शिक्षा कार्यालयको अधिकृत बन्ने लक्ष्य बोकेर भविष्यको सफल उडानमा रहेकी सीमाले भन्छिन्- आँट विश्वास र सङ्कल्प भएमा मानिस छिटै गन्तव्यमा पुग्न सक्छ। लगनशीलता र धैर्यता मानिसको हतियार भएको बताउने सीमाले लोक सेवा आयोग वा शिक्षक सेवा आयोगमा १/२ पटकमा नाम ननिस्किँदा आत्तिनु नपर्ने सुझाव दिन्छिन्। इमानदारीपूर्वक तयारी गर्नु पर्ने राम्रो लेखकको लेखन सामग्री छानेर अध्ययन गरेमा सफलता आफ्नै हातमा हुने उनको बुझाई छ।
अन्य दृष्टिविहिन शिक्षक साथीहरूले नियुक्ति पाएपछि हाजिर गर्न जाँदा सास्ति खेपेको खबर सुने पनि आफूलाई त्यस्तो समस्या भने भोग्न नपरेको उनले भनिन्। विद्यालयमा प्रिन्सिपल सरले हाजिर गर्न सहजै दिएको बस्नका लागि कोठा खोज्ने कार्यमा समेत सहयोग गरेको सीमाले बताइन्। विद्यालय नजिक कोठा भाडा लिएर बसेकी सीमा प्रावि तहका विद्यार्थीलाई अध्यापन गराउँछिन्। घण्टिपिच्छे कक्षाहरूमा ओहोरदोहोर गर्छिन्। बाटोघाटो र विद्यालयका भौतिक संरचना अपाङ्गमैत्री नहुनाले हिँडडुलमा चुनौती भए पनि सहकर्मी शिक्षक शिक्षिका तथा विद्यार्थीहरूले सहजीकरण गरिदिँदा सहज भएको उनले बताइन्। एक्लै हिँड्ने प्रयास पनि गरिरहेकी छु सीमाले भनिन्।
अंग्रेजी विषयमा अध्यापन गराइरहेकी सीमाले प्रावि तहका पाठ्यपुस्तकहरू ब्रेललिपिमा उपलब्ध भएकाले अध्यापनमा समस्या नभएको बताइन्। ब्रेललिपिका पाठ्यपुस्तकहरू दृष्टिविहिन संघ र नेत्रहीन संघले उपलब्ध गराउने हुँदा अध्यापन सहज भएको उनको अनुभव छ। स्मार्ट प्रोजेक्टर भएमा दृष्टिविहिन शिक्षक शिक्षिकाहरूलाई अझ सहज हुने सीमा लाई विश्वास छ। स्मार्ट प्रोजेक्टरको व्यवस्था सबै विद्यालयमा भएको भए आफूहरूलाई अझ सजिलो हुने उनले बताइन्।
सीमाको जीवन केवल व्यक्तिगत संघर्षको कथा होइन यो सामाजिक परिवर्तनको प्रेरणादायी दस्तावेज पनि हो। मावि तहको शिक्षण अध्यापन अनुमति पत्रको तयारीमा जुटेकी तामाङ शिक्षा कार्यालयको अधिकृत हुने आफ्नो लक्ष्य रहेको बताइन्।