आश्विन शुक्ल द्वादशीका दिन पनि दशैँको टीका लगाउने र आशीर्वाद लिनेको चहलपहल कायम रहेको छ।
विजयादशमीका दिन नवदुर्गाको प्रसादस्वरूप टीका थाप्ने परम्परा सुरु भएपछि एकादशी र द्वादशीमा समेत मान्यजनकामा पुग्नेक्रम निरन्तर जारी छ। नवरात्रको नौ दिनसम्म देवीपूजा आराधना गरी विसर्जन गरेपछि दशमीका दिनदेखि टीका तथा आशीर्वाद ग्रहण गर्ने चलन रहिआएको हो।
बिहीबार टीका लगाउन नभ्याएका श्रद्धालुहरूले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्न सक्ने प्रचलन छ।
यद्यपि, पश्चिम नेपालका केही जिल्लामा विजयादशमीकै दिन मात्र दुर्गाको प्रसाद थाप्ने चलन रहेको छ भने काठमाडौं उपत्यकासहित पूर्वी नेपालमा दशैँ कोजाग्रत पूर्णिमासम्म मनाइन्छ।