Jul 27 2026

Jul 27 2026 | सोमवार, श्रावण ११ गते २०८३

देवानगञ्ज झडपबारे मानव अधिकार आयोगको चासो

सुनसरीको देवानगन्जमा दुई समुदायबिच भएको झडप र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गर्दै सूक्ष्म अनुसन्धान सुरु गरेको जनाएको छ।

आयोगले सोमबार विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय विराटनगरबाट घटनाको प्रारम्भिक अनुगमन गरिसकिएको र मानव अधिकारको दृष्टिकोणबाट विस्तृत छानबिन अघि बढाइएको जनाएको हो।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा शान्ति–सुरक्षाको अवस्था मजबुत बनाउन, घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको छ। साथै, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि आयोगले अनुरोध गरेको छ।

आयोगले राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी र सर्वसाधारणलाई संयमित रहन आग्रह गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।