नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा ३ रनले पराजित भएको छ।
वायुमास ओभलमा बिहीबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०४ रनको योगफल खडा गर्यो। लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १०१ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा ७ रन आवश्यक भएको अवस्थामा नेपालकी कविता जोशी र राजमती ऐरी क्रिजमा रहेका थिए। तर दुवै खेलाडीले ३ रन मात्र जोड्न सकेपछि नेपाल ३ रनले पराजित हुन पुग्यो।
नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रनको योगदान गरिन् भने सम्झना खड्काले १८, अविजित कविता जोशीले १३ तथा कप्तान इन्दु बर्माले १२ रन बनाइन्।
मलेसियाका लागि नुर दानिया स्यादाले शानदार बलिङ गर्दै ४ ओभरमा १० रन मात्रै खर्चिएर ३ विकेट झारिन्। कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले २–२ विकेट लिए।
यसअघि ब्याटिङमा उत्रिएको मलेसियाका लागि कप्तान विनिफ्रेडले सर्वाधिक २७ रन बनाइन्। अइना हमिजाले २६ तथा मास एलिसाले २५ रनको योगदान गरे।
नेपालका बलर सोमु विष्टले २ तथा रुबिना क्षेत्रीले १ विकेट लिन सफल भइन्।
दुई टोलीबीचको शृंखलाको दोस्रो खेल शनिबार खेलिने कार्यक्रम छ।