वेस्ट इन्डिजविरुद्धको युनिटी कप टी–२० क्रिकेट शृंखलाको उपाधि नेपालले जितेको छ । नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध सानदार जित निकालेको हो ।
नेपालले सोमबार भएको दोस्रो खेलमा ९० रनको जित निकालेसँगै शृंखला अन्तिम खेलअगावै सुनिश्चित गरेको हो । नेपाली क्रिकेटले इतिहासमै टेस्ट राष्ट्रविरुद्धको शृंखला जितेको यो पहिलो पटक हो ।
नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराएको हो । नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । वेस्ट इन्डिज कुनैपनि बेला खेलमा हावी हुन सकेन ।
नेपालका आदिल आलमले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पारी खेले । आसिफले ४७ बलमा अविजित ६८ रन बनाए । जोराले ३९ बलमा ६३ रन बनाए । नेपाल ४३-३ को अवस्थामा हुँदादेखि आसिफ र जोरा मिलेर चौथो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए ।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेनले ४ ओभरमा २१ रन दिएर २ विकेट लिए । काइल मेयर्सले २ ओभरमा २६ रन दिएर २ विकेट लिए । जेदिया ब्लेड्सले एक विकेट हात पारे ।
यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो । यस खेल जितपछि नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृंखला समेत जितेको छ ।
नेपाली टिमले आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध खेलेको पहिलो शृंखलामा नै जित निकालेको हो । दोस्रो जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यी दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुने तालिका छ ।