Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

वेस्ट इन्डिजलाई नेपालले दियो १७४ रनको लक्ष्य

शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको दोस्रो टी२० खेलमा नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको योगफल तयार पार्‍यो।

नेपालको इन्सिङमा दुई खेलाडीले अर्धशतक प्रहार गरे। ओपनर आसिफ शेखले ४७ बलमा ६८ रनको उत्कृष्ट इनिङ खेले भने सन्दीप जोराले ३९ बलमा ६३ रनको विस्फोटक प्रहार गरे। अन्य खेलाडीमध्ये कुशल भुर्तेलले ४, कप्तान रोहित पौडेलले ३, कुशल मल्लले ७, गुलशन झाले ६ र मोहम्मद आदिल आलमले ११ रन जोडे। नेपालले १३ अतिरिक्त रन पनि पायो।

बलिङतर्फ वेस्ट इन्डिजका अकिल हुसेन र काइल मेयर्सले समान दुईदुई विकेट लिए भने जेडिया ब्लेड्सले एक विकेट लिए।

नेपाल यस खेलमा लगातार दोस्रो जितको खोजीमा छ। तीन खेलको टी२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो। शृंखलाको अन्तिम खेल मंगलबार शारजाहमै हुनेछ।