Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण शुरु, उपचार गर्न देशभर १६ जेनजी क्लिनिक

सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारका लागि काठमाडौँसहित देशका १६ अस्पतालमा ‘जेनजी क्लिनिक’ सञ्चालनमा ल्याएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार ट्रमा सेन्टरमा घाइतेहरूलाई परिचयपत्र वितरण गरी क्लिनिक शुभारम्भ गरेका हुन् । आजैदेखि परिचयपत्र वितरण गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवं सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गरिएको हो । 

काठमाडौं उपत्यकामा वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा जेन-जी क्लिनिक स्थापना गरिएको छ । त्यसैगरी कोशीमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पताल, मधेशमा नारायणी अस्पताल र गजेन्द्रनारायण अस्पताल र बागमतीमा भरतपुर अस्पतालमा क्लिनिक स्थापना गरिएको छ । त्यस्तै गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पतालमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

मन्त्रालयले घाइते भएका व्यक्तिलाई उपचारमा सहजीकरण गर्न सम्पर्क व्यक्ति र फोन नम्बरसमेत सार्वजनिक गरेको छ । जसमा गृह मन्त्रालयकी उपसचिव सुप्रभा ढुंगेल (९८४१६०८३०५) र स्वास्थ्य मन्त्रालयका भक्त केसी (९८६८८२०२३४) लाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयले जनाएको छ ।

साथै घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन हुने मन्त्रालयले जनाएको छ । त्यस्तै फलो-अपमा जानुपर्ने घाइतेलाई आवतजावतका लागि स्वास्थ्य मन्त्रालय र सम्बन्धित अस्पतालको सहजीकरणमा नि:शुल्क एम्बुलेन्सको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।