Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७५ पुग्यो

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७५ पुगेको छ । दुवै दिनको घटनामा मृत्यु भएकाको संख्या ७५ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन् । पहिलो दिन प्रहरीको अत्यधिक दमनबाट काठमाडौंमा १९ र उपत्यका बाहिर २ गरी २१ जनाको मृत्यु भएपछि झन् आक्रोश बढ्यो र २४ भदौमा अझ बढी प्रदर्शनकारी सडकमा उत्रिए ।

‘नेपालगन्जस्थित बाल सुधार गृहमा ५ बालबन्दी, धादिङमा २ र रामेछापमा ३ कैदीको समेत मृत्यु भयो,’ उनले भने, ‘२० जनाको भाटभटेनी सुपरमार्केटमा जलेर ज्यान गयो ।’ दर्शनकारीको कुटपिटबाट तीन प्रहरीको मृत्यु भएको थियो । ज्यान गुमाएका अन्य अधिकांशलाई प्रहरीको गोली लागेको थियो ।

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेन–जीले २३ भदौमा सडक प्रदर्शन गरेका थिए । डिस्कर्ड र रेडिटबाट संगठित भएका युवा माइतीघरमा भेला भएर अघि बढेका थिए । उनीहरूले बानेश्वरमा ब्यारिकेड भत्काएर संसद् भवन घेर्न थालेपछि प्रहरीले गोली चलाउन सुरु गरेको थियो ।

संसद् भवनभित्र रहेको प्रहरीको एसटीएफ (स्पेसल टास्क फोर्स) ले गोली चलाएको उच्च प्रहरी अधिकारी बताउँछन् । संसद् भवनभित्रबाट एसएलआर, इन्सास, पेस्तोललगायतका घातक हतियारबाट गोली चलाइएको थियो । निषेधित क्षेत्र तोडेर संसद् भवन छिर्न खोजेपछि गोली चलाउनुपरेको सुरक्षा निकायका प्रमुखहरूको दाबी थियो ।

प्रहरीको गोलीबाट एकै दिन त्यत्तिका संख्यामा प्रदर्शनकारी मारिएपछि भदौ २३ गते राति राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको थियो । त्यस बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यति धेरै गोली विगतमा कहिल्यै नचलेको भन्दै सुरक्षा निकायका प्रमुखहरूलाई प्रश्न गरेका थिए ।

तर, २४ गते भिड भड्किएर भएको हिँसा र आगजनीपछि प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका थिए । सुशीला कार्की नेतृत्वमा गठन भएको अन्तरिम सरकारले भदौ २३ र २४ गतेको दमन तथा आगजनीबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बिहीबारदेखि आफ्नो कामसमेत थालेको छ ।