Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस

आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विश्वभर मनाइदैछ । संसारभर सांकेतिक भाषाको महत्त्व बुझाउन तथा सबैमा यसबारे जागरुक गराउन संयुक्त राष्ट्रसंघको महासभाबाट मान्यता पाएसँगै हरेक बर्ष सेप्टेम्बर २३ मा अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउन थालिएको हो ।

बहिराको अन्तर्राष्ट्रिय सप्ताहको भागको रूपमा सन् २०१८ मा पहिलो पटक अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएको थियो । पछि १९ डिसेम्बर २०१९ मा विश्व बहिरा महासंघले यस दिवसका लागि पहिलो पटक संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेस गरेको थियो ।

सेप्टेम्बर २३ कै दिन यस दिवस मनाउनुको कुनै विशेष कारण नभए पनि सेप्टेम्बर २३, १९५१ का दिन विश्व बहिरा महासंघको स्थापना भएकाले यसै दिनलाई आधार मानेर अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउन सुरु गरिएको हो ।

महासंघ स्थापनाको सात वर्षपछि अर्थात् सन् १९५८ सेप्टेम्बरमा पहिलो पटक अन्तर्राष्ट्रिय बहिरा सप्ताहको रूपमा मनाइएको थियो । त्यस बेलादेखि बहिरा सप्ताह संसारभर वैश्विक आन्दोलनको स्वरूपमा विकसित भएको थियो ।

विश्व बहिरा महासंघका अनुसार संसारभर करिब सात करोड २० लाखभन्दा बढी बहिरा मानिसहरू रहेका छन् । यीमध्ये ८० प्रतिशतभन्दा बढी बहिराहरू विकासशील राष्ट्रमा रहेका तथ्यांक छ । महासंघकै तथ्यांक हेर्ने हो भने ३०० भन्दा बढी विभिन्न सांकेतिक भाषाहरू संसारभर प्रयोगमा रहेका छन् ।