Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

भदौ २३ गतेको दमन र २४ गतेको घुसपैठको छानबिन हुनुपर्छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ गतेको दमन र २४ गतेको घुसपैठको छानबिन हुनुपर्ने बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले भदौ २३ गते भएको जेनजी आन्दोलनमाथि तत्कालिन सरकारले गरेको दमन र २४ गते भएको घुसपैठको छानबिन हुनुपर्ने बताएका हुन् ।

उनले शहिद परिवार र घाइते भेट्न नगएको बारे स्पष्टिकरण दिदै भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दा राख्दै उनीहरु ढलेको उल्लेख गर्दै यो माग पुरा गर्न आफ्नो प्रयत्नले ठोस परिणाम ल्याएपछि बल्ल शहिद परिवार र घाइतेलाई भेट्न जाने बताएका छन् ।

उनले भनेका छन्- भाद्र २३ गतेको आन्दोलनमा व्यापक दमन भएको छ र दमनको छानबिन हुनुपर्छ र दोषीले सजाय पाउनु पर्छ । भाद्र २४ गतेको आन्दोलनमा एकातिर नौजवानहरुको रिस थियो आक्रोश थियो, परिवर्तनको चाहना थियो, त्यो भावना पवित्र थियो त्यो एउटा पाटो भयो तर संगसँगै कतिले यहि मौका छोपेर व्यापक रुपमा आफ्नो प्रतिशोध साध्ने काम गरेको छ, आफ्नो निहित स्वार्थ पुरा गर्ने प्रयत्न गरेको छ व्यापक घुसपैठ भएको छ । सरकारी र निजी सम्पतिको आक्रमण हेर्यौं भने हामीलाई धेरै कुरा बताउछ । आन्दोलनको पवित्रा एकापट्टी छ र घुसपैठ अर्को पट्टि छ । त्यसैले घुसपैठको छानबिन हुनुपर्छ र सजाय हुनुपर्छ ।'

उनले कानुन अनुसार बिना प्रतिशोध चर्चित प्रकरण र ४६ साल यताका सांसद मन्त्रीको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेका छन् । महामन्त्री थापाले कांग्रेसमा नेतृत्व परिवर्तनको मागबाट अब आफुहरु पछि नहट्ने स्पष्ट गरेका छन् । उनले यति ठुलो उथलपुथलपछि आन्दोलनको भावनालाई बोकेर हिड्ने पार्टी बनाउन पार्टी पुनर्गठन हुनुनै पर्छ । उनले यसअघि आफुहरुले उठाएका सहि मुद्धा बीचमै छाडेको बताउदै अब बिचमा नछोड्ने बताएका छन् । उनले पार्टीको नियमित र विशेष महाधिवेशन गर्न सकिने बताउदै यो भन्दा अन्य विकल्प नभएको बताएका छन् ।