Jun 06 2026

Jun 06 2026 | शनिवार, जेठ २३ गते २०८३

रामेछापमा पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र अलपत्र

रामेछाप जिल्लाको सदरमुकाम मन्थली नगरपालिका–१, सानीमदौमा निर्माण सम्पन्न भएको पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र अलपत्र अवस्थामा छाडिएको छ ।

वाग्मती प्रदेश सरकारको ७० प्रतिशत र मन्थली नगरपालिका ३० प्रतिशत लागत साझेदारीमा बनेको उक्त चिस्यान केन्द्र काठमाडौंस्थित इजि इन्फा प्रालिले निर्माण गरेको हो। प्रदेश सरकारले पाँच करोड र नगरपालिकाले दुई करोड दश लाख रुपैयाँ लगानी गरेर निर्माण गरिएको चिस्यान केन्द्र सफल परीक्षण समेत भइसकेको छ । तर, प्रदेश सरकारले नगरपालिकालाई आधिकारिक रूपमा हस्तान्तरण नगरेकाले हालसम्म प्रयोगमा ल्याउन सकिएको छैन् ।

चिस्यान केन्द्र ५० केजीका दश हजार बोरा फलफूल तथा तरकारीजन्य उपज भण्डारण गर्न सक्ने क्षमता भएको बताइएको छ । यसले जिल्लामा उत्पादन हुने जुनार, किवी, आलु, तरकारी लगायतका अमिलो तथा मौसमी फलफूल–तरकारी चिस्यान गरी किसानलाई मूल्य सुरक्षित गर्ने अपेक्षा गरिएको थियो । सञ्चालनमा ल्याउन नसक्दा किसानहरू भने बजार अभाव र भण्डारण समस्यामा परेको स्थानीयको गुनासो छ ।

Photo.jpg
undefined

मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठका अनुसार आवश्यक घेराबार, व्यवस्थापन गर्ने कर्मचारी, पाले घर र शौचालय लगायतका संरचना सो स्थानमा आवश्यक छ । प्रदेश सरकारले संरचना हस्तान्तरण नगर्दा ती काम अघि  बढ्न सकेका छैनन् ।  मन्थली नगरपालिकाले आफ्नो लगानीमा चिस्यान केन्द्रसम्म विद्युत् पु¥याई टिओडी मिटर जडान समेत गरिसकेको छ ।

तर, टेन्डर आह्वानदेखि निर्माण सम्पन्न गर्ने सम्पूर्ण प्रक्रिया प्रदेश सरकारकै मातहतमा रहेकाले औपचारिक हस्तान्तरण नहुँदासम्म चिस्यान केन्द्र सञ्चालनमा ल्याउन नसकिएको नगरपालिकाले जनाएको छ । ठुलो लगानीमा बनेको चिस्यान केन्द्र तत्काल सञ्चालनमा आउन नसक्दा जिल्लाका किसानलाई उत्पादन बेच्न र सुरक्षित राख्न कठिनाइ परेको छ । राज्यको ठुलो लगानी पनि त्यसै खेर गइरहेको छ ।