जेनजी आन्दोलनका क्रममा भएका तोडफोड तथा आगजनीका घटनाले एनसेल नेपालका काठमाडौंस्थित मुख्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्षति पुर्याएको एनसेलले पुष्टि गरेको छ । कम्पनीले भौतिक क्षतिसँगै कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा समेत ठूलो चुनौती खडा भएको जनाएको छ ।
यद्यपि यी कठिन परिस्थितिहरूबीच पनि एनसेलले आफ्नो मूल उद्देश्य – देशभरका नागरिकलाई दूरसञ्चार सेवामा अबाध पहुँच सुनिश्चित गर्ने – बाट विचलित नभएको जनाएको छ । सेवामा सहजता ल्याउन कम्पनीले आन्दोलनपश्चात तीन दिनसम्म आफ्ना ग्राहकलाई निःशुल्क स्थानीय भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराएको थियो ।
२० वर्षदेखि नेपालमा सञ्चार प्रविधि विकासमा योगदान दिँदै आएको एनसेलले हालै गठन भएको अन्तरिम सरकारप्रति बधाई प्रकट गर्दै नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशले शान्ति, एकता र समृद्धितर्फ नयाँ यात्रा सुरू गर्ने अपेक्षा राखेको छ । एनसेलले युवाको नेतृत्वमा आएको परिवर्तनलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएको छ ।
एनसेलका अनुसार विगत दुई दशकयता कम्पनीले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रुपान्तरणको यात्रा अघि बढाउँदै रोजगारी सिर्जना, आर्थिक वृद्धिमा टेवा पु¥याउने र ‘डिजिटल नेपाल’ निर्माणमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । यस यात्रामा ग्राहक, कर्मचारी र नेपाली जनसमुदायबाट प्राप्त साथ र समर्थनप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।
अन्त्यमा, आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको आत्माको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै एनसेलले भविष्यमा अझ दृढ संकल्पका साथ देश र जनताको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता दोहोर्याएको छ ।