काठमाडौं । शीतल निवासमा जारी राजनीतिक संकटसम्बन्धी छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलले आफूले कांग्रेस नेताहरूलाई थेग्न नसकेको बताएका छन्।
राष्ट्रपतिको भनाइ उद्धृत गर्दै एक कांग्रेस नेताले भने, “अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई हस्तान्तरण गर्दैछु।”
स्रोतका अनुसार आन्दोलनरत जेनजी समूहको सिफारिसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकारको नेतृत्वका लागि अघि सारिएको हो। राष्ट्रपतिको सक्रिय पहलमा कार्कीलाई सरकार प्रमुख बनाउन तयारी भइरहेको बताइएको छ।
शीतल निवासमा मध्यरातसम्म चलेको छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कानुनविद् ओमप्रकाश अर्याल उपस्थित रहेका थिए।
चार जनाबीचको वार्तामा संसद् विघटनको विषयमा मतभेद देखिए पनि कुन संवैधानिक उपायमार्फत अघि बढ्ने भन्नेमा छलफल केन्द्रित भएको स्रोतले जनायो।