Jul 15 2026

Jul 15 2026 | बुधवार, आषाढ ३१ गते २०८३

काठमाडौँ उपत्यकामा निषेधाज्ञा र कर्फ्यूको समय बढाइयो

नेपाली सेनाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा र कर्फ्यूको समय बढाएको छ । नेपाली सेनाले पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको भन्दै उपत्यकाका तीन जिल्लामा सेनाले शुक्रबार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा तथा शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कर्फ्युको समय बढाइएको जानकारी दिएको हो ।

साथै सेनाले निषेधाज्ञा तथा कर्फ्यूको दौरान समेत अत्यावश्यक सेवाका (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरु सञ्चालन गर्न सकिने जनाएको छ ।

त्यस्तै विभिन्न सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सकिने र आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ । त्यस्तै आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सेनाले आग्रह गरेको छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरुप जिल्ला सुरक्षा समितिहरुबाट निर्णय तथा समन्वय गरिएबमोजिम हुने र जस्तोसुकै परिस्थिति पनि आम नेपालीहरुको सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहि जिम्मेवारी निर्वाहमा सक्रिय सुरक्षाकर्मीहरुलाई सहयोग पुयाउन सबैसँग नेपाली सेनाले अपिल गरेको छ ।