Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

सुनचाँदीको मूल्यले तोड्यो रेकर्ड, सुन प्रतितोला २ लाख १० हजार नाघ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला रु. २ लाख १० हजार ४०० पुगेको छ। यो नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो।

महासंघका अनुसार, बिहीबार प्रतितोला रु. २ लाख ७ हजार ९०० मा कारोबार भएको सुन आज रु. २,५०० ले वृद्धि भई नयाँ उचाइमा पुगेको हो। पछिल्ला केही हप्तादेखि सुनको मूल्यमा निरन्तर वृद्धि हुँदै आएको देखिएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार प्रतितोला रु. २,४८० मा कारोबार भएको चाँदी शुक्रबार रु. १० ले बढेर रु. २,४९० मा कारोबार भइरहेको छ। यो चाँदीको पनि अहिलेसम्मकै उच्च मूल्य हो।

सुनचाँदी व्यवसायी महासंघका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढिरहेको कारणले नेपाली बजारमा समेत यसको प्रभाव परेको हो। आजको दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३,५५७ अमेरिकी डलर मा पुगेको छ।

स्थानीय बजारमा मूल्य वृद्धिको यो क्रम उपभोक्ताका लागि भने चिन्ताको विषय बनेको छ। आगामी दिनहरूमा सुनचाँदीको मूल्य अझै बढ्ने अनुमान गरिँदैछ, जसले विवाह तथा अन्य लगानी प्रयोजनमा असर पुर्‍याउने देखिएको छ।