नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा एपीएफ फुटबल क्लबकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बा व्यवसायिक लिगका लागि न्युजिल्यान्ड प्रस्थान गरेकी छिन्। साम्बा न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबमा आबद्ध भएकी छिन् ।
न्युजिल्यान्डको वेलिंगटन फिनिक्समा नयाँ सिजनका लागि आवद्ध भएकी साम्बा सोमबार राति त्यसतर्फ प्रस्थान गरेकी हुन्। साम्बा न्युजिल्यान्डको क्लब फिनिक्समा सन् २०२५–२६ का लागि आवद्ध भएकी हुन्।न्युजिल्यान्डको वेलिङ्टन सहरको यो क्लबले अस्ट्रेलियाको ‘ए लिग’मा प्रतिस्पर्धा गर्ने गर्छ ।
त्यसैले अब सावित्राले अस्ट्रेलियाको माथिल्लो डिभिजनका महिला लिगमा खेल्नेछिन् । विश्व फुटबलमा अस्ट्रेलियाली महिला फुटबललाई अब्बल दर्जाको मानिन्छ ।
नेपालले पछिल्लो पटक खेलेको वुमेन्स एसिया कप छनोटमा सावित्रा कप्तान रहेकी थिइन् । उनले यसअघि भारत, इजरायल र फ्रान्समा पनि व्यावसायिक फुटबल खेलिसकेकी छिन् ।