Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

ठुला टेक कम्पनीलाई अमेरिकी वकिलहरूको एआईबाट बालबालिकालाई बचाउन चेतावनी

हाल द्रुत गतिमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास भइरहेको भएपनि यसका असर पनि उत्तिकै रुपमा हरेक दिन देखिन थालेका छन् । विशेष गरी यसले बालबालिकामा नराम्रो प्रभाव पारेका घटना बाहिर आइरहेका छन् । हालै अमेरिकामा १६ वर्षीय एक बालकले आत्महत्या गरेपछि यसका लागि उसले च्याटजीपीटीको सहयोग लिएको खुलेको छ । च्याटजीपीटीले ति बालकलाई आत्महत्या गर्ने तरिकाहरू सुझाएको पाइएपछि अमेरिकी समाज तरंगित बनेको छ ।

यस किसिमका अन्य घटना पनि आउन थालेपछि अमेरिकी वकिलहरूले गुगल, माइक्रोसफ्ट, च्याटजीपीटीलाई पत्र लेखेर बालबालिकालाई हानी हुने काम नगर्न आग्रह गरेका छन् । यो पत्र साम अल्टम्यानको ओपनएआई, एलन मस्कको एक्सएआई र मार्क जुकरबर्गको मेटा जस्ता ठूला कम्पनीहरूलाई खुला पत्रको रुपमा लेखिएको मिडिया रिपोर्टमा उल्लेख छ । यसमा वकिलहरूले बालबालिकालाई हानि नगर्न स्पष्ट रूपमा भनेका छन् ।

रिपोर्ट अनुसार, वकिलहरूले ठूला एआई कम्पनीहरूलाई लेखेको पत्रमा एआई च्याटबटबाट बालबालिकालाई सुरक्षित राख्न चेतावनी दिएका छन्, अन्यथा गम्भीर कानुनी परिणामहरू भोग्नुपर्ने समेत उनीहरुले बताएका छन् । यो पत्र अमेरिकाका ४४ राज्य र क्षेत्रका महान्यायाधिवक्ताले संयुक्त रूपमा पठाएका हुन् । उनीहरूले टेक दिग्गजहरूलाई बालबालिकालाई हानि नपुर्‍याउन र आवश्यक कदम तत्काल चाल्न चेतावनी दिएका छन् ।

विशेष गरी अमेरिकी वकिलहरूले मार्क जुकरबर्गको मेटा कम्पनीलाई लक्षित गरेका छन्  । हालै मेटामाथि एआई सहायकहरूलाई आठ वर्षसम्मका बालबालिकाहरूसँग 'फ्लर्टिङ' र 'रोमान्टिक रोलप्ले' गर्न अनुमति दिएको आरोप लागेको थियो । वकिलहरूले यसलाई 'घृणित' भनेका छन् र यो बालबालिकाप्रति लापरवाही भएको बताएका छन् । अर्कोतर्फ, मेटाका प्रवक्ताले जवाफ दिदै उनको कम्पनीले बालबालिकाको यौन दुर्व्यवहारसँग सम्बन्धित सामग्री प्रतिबन्ध लगाएको स्पष्ट गरका छन् ।

मेटामा मात्र नभई धेरै अन्य कम्पनीहरूमा पनि प्रश्न उठाइएको छ। अमेरिकी वकिलहरूले गुगलको एआई च्याटबटलाई पनि आरोप लगाए, जसले एक किशोरलाई आत्महत्या गर्न उक्साएको बताएका छन् । यस बाहेक, क्यारेक्टर डट एआई नामक च्याटबटले एक केटालाई आफ्ना आमाबाबुलाई मार्न सुझाव दिएको आरोप  लगाइएको छ । गुगलले यस घटनामा स्पष्ट पार्दै यसको खोज इन्जिन र क्यारेक्टर डट एआई दुई फरक कम्पनीहरू भएको बताएको छ । गुगलले क्यारेक्टर डट एआईको एआई मोडेलसँग कुनै सम्बन्ध नरहेको बताएको छ । वकिलहरूले ओपनएआईको च्याटजीपीटीलाई १६ वर्षीय केटालाई आत्महत्या गर्न उक्साएको आरोप लगाउदै टेक कम्पनीहरूले कम्तिमा बालबालिकालाई उपभोक्ता मान्नु नहुने बताएका छन् ।

अमेरिकी वकिलहरूले यस मुद्दामा सामाजिक सञ्जाललाई उदाहरणको रूपमा प्रस्तुत गरे । उनीहरूले सामाजिक सञ्जाल सुरु हुँदा पनि ठूला प्राविधिक कम्पनीहरूले प्रारम्भिक चेतावनीहरूलाई बेवास्ता गरे, जसको परिणामस्वरूप बालबालिका र उनीहरूका परिवारहरूले क्षति बेहोर्नुपर्‍यो । 

वकिलहरूले प्राविधिक कम्पनीहरूलाई चेकडा कानुनी कारवाहीको चेतावनी दिदै टुटेको जीवन र टुटेको परिवार यी कम्पनीहरूका लागि संख्याको खेल मात्र भएको बताएका छन् । उनीहरुले सरकारहरूले यस्तो गल्ती नदोहोर्याउने विश्वास व्यक्त गर्दै आफुहरुले पनि पाठ सिकेको र यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन् ।