Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

साम्बालाई नगदसहित सम्मान

राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारीलाई तनहुँको दुलेगौडामा सम्मान गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नम्बर ४ ले तीजको अवसरमा आज यहाँ आयोजना गरेको तीज गीत प्रतियोगिताको अवसरमा भण्डारीलाई नगद ५० हजारसहित सम्मान गरिएको हो ।

भण्डारीलाई गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दोसल्लाले सम्मान गरे ।खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै कप्तान भण्डारीलाई सम्मान गरिएको वडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण विकले जानकारी दिए ।

कार्यक्रममा कप्तान भण्डारीले जुन क्षेत्रमा भए पनि कडा परिश्रम गर्ने हो भने सफलता प्राप्त हुने बताइन् । गाउँमा मोजाको बल खेल्दै काठमाडौँ पुगेको विगत स्मरण गर्दै भण्डारीले भनिन्, ‘म दाइहरुसँग फुटबल खेल्थे । जहिले पनि गाली खान्थेँ, पिटाइ खान्थेँ । मैले तत्कालीन समयमा गरेको मेहिनतका कारण आज यो ठाउँमा छु ।’

त्यस अवसरमा गण्डकी प्रदेशसभा सदस्य गुरुङले खेलकुदले हरेक नेपालीलाई एकापसमा जोड्ने काम गरेको बताइन् । गुरुङले खेलकुदको माध्यमबाट भण्डारीले नेपाललाई विश्वमाझ चिनाउन सहयोग गरेको बताइन् ।