Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

शिक्षकहरुको अहिलेको आन्दोलन अनावश्यक : मन्त्री पन्त

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सामुदायिक विद्यालयका शिक्षक अनावश्यक आन्दोलनमा उत्रिएको टिप्पणी गरेका छन् । शिक्षकका ९० प्रतिशत माग विद्यालय शिक्षा विधेयकमा समेटिएको उनले जिकिर गरे ।

‘सबै माग त कसरी सम्बोधन गर्न सकिन्छ ? शिक्षकसँग भएका सहमति ९० प्रतिशत विधेयकमा समेटिएको छ’, उनले भने, ‘शिक्षकले अहिले गरिरहेको आन्दोलन अनावश्यक हो ।’ शिक्षकका नेताले राजनीति गर्न खोजेको उनले आरोप समेत लगाएका छन् ।

‘नेता बनेकालाई आफ्नो समर्थन घट्छ कि भन्ने डर छ । त्यसैले कुनै समूहले एउटा विषयमा असन्तुष्ट जनाउँदैमा महासंघ आन्दोलनमा उत्रिहाल्छ’, उनले भने । संसदमा पेस गरिएको विधेयक अब अघि बढाइने उनले बताए । यता सरकारले आफूहरुसँग गरेका सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासंघले पनि आन्दोलन घोषणा गरेको छ । संसदबाट पारित गर्दा बाँकी विषयमा सम्बोधन हुनुपर्ने उनहरूको माग छ ।

त्यस्तै संसदमा विद्यालय शिक्षासम्बन्धी विधेयक पेश भए लगतै निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरू पनि आन्दोलनमा उत्रिएका छन् । अघिल्लो शुक्रबारदेखि राजधानीमा निजी विद्यालयका शिक्षकहरूले आन्दोलन थालेका हुन् । प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतका निजी विद्यालयका संगठनहरुले आज (सोमबार) संयुक्त रुपमा माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म प्रदर्शन गरेका छन् ।

विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्तिको व्यवस्था र गैरनाफामुलक भन्ने व्यवस्था हटाउनु पर्ने उनीहरुको माग छ । माग सम्बोधन नभए विद्यालय नै बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन् । शिक्षाको गुणस्तर र श्रम अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित उनीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।