नेकपा (एमाले) का पूर्व नेता डा. भीम रावलले देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सत्ता स्वार्थका लागि जे पनि गर्न तयार रहेको भन्दै उनीहरुको कार्यशैलीप्रति चर्को आलोचना गरेका छन् ।
उनले सत्ता र पदका लागि जस्तोसुकै कदम चाल्ने तर राष्ट्रियताका सवालमा मौन बस्ने प्रवृत्तिले देशलाई कमजोर बनाएको उनले बताए । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. रावलले हालै देखिएका राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै अछामी उखान ‘पोहोर मरी सासु, अहिले आए आँशु’ को संज्ञा दिए ।
उनले भने, ‘उपसभामुखले त्यसरी पत्र पठाएको हो भने तत्काल छानबिन हुनुपर्छ भनेर मैले त्यतिबेलै आवाज उठाएको हुँ । त्यतिबेला सत्तामा यिनै व्यक्तिहरू थिए, किन छानबिन गरेनन् ? अहिले आएर संवैधानिक परिषदमा आफ्नो बहुमत नहुने र भागबण्डा गर्न नपाइने भएपछि मात्रै विरोध गर्नुको के अर्थ ?’
डा. रावलले यस्ता गतिविधिहरू केवल सत्तामा रहिरहने पदलोलुप, सत्तामुखी र स्वार्थी चिन्तनको उपज भएको टिप्पणी गरेका छन् । उनले केपी शर्मा ओली र शेरबहादुर देउवा लगायतका नेताहरूको गठबन्धनले आफ्नो सत्ता टिकाउनका लागि जे पनि गर्ने तर राष्ट्रिय हितका विषयमा मौन बस्ने गरेको आरोप लगाए ।
विपक्षी दलहरूको भूमिकामाथि पनि प्रश्न उठाउँदै उनले भने, ‘सरकारले बहुमतको दम्भ देखायो भनेर गीत गाएर मात्र केही हुँदैन । नागरिकता विधेयक पारित हुँदा, जलविद्युतमा विदेशी सुरक्षाकर्मीलाई ढोका खोल्दा र भूमि सुधारलाई कुल्चिने ऐन आउँदा खै बोलेको ? खै संसदमा सशक्त उपस्थिति भएको ?’
उनले सांसदहरूलाई खाली पानामा हस्ताक्षर गराएर उनीहरूको सार्वभौम अधिकारलाई पंगु बनाउने काम भइसकेको बताउँदै विपक्षी दलहरूले यी गम्भीर विषयमा सशक्त रूपमा आवाज उठाउन नसकेको बताए ।