‘अमेरिकी उपनिवेशवादी दबाब सामु सरकारले घुँडा टेक्यो’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दबाबको सामना गर्न नसकेको आरोप लगाएका छन् ।
आज (आइतबार) काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद्बाट एमसीसी अनुमोदन गर्नु सरकारको आत्मसमर्पणवादी कदम भएको जिकिर गरे । संसदभित्र एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुको व्यवहार जनताले अस्वीकार गरेको भन्दै विप्लवले एमसीसी नेपालको संविधान र कानुन अनुकूल नभएको दाबी गरेका छन् ।
‘मिलेनियम च्यालेन्ज कर्पोरेसनको सन्दर्भमा नेपाल सरकार अमेरिकी उपनिवेशवादी दबाबसामु टिक्न सकेन, सन् २०२२ फेब्रुअरी २७ मा संसदबाट अनुमोदन गर्नुपर्यो,’ उनले भने, ‘स्मरणीय कुरा के छ भने भित्र संसदमा बहस हुँदै गर्दा बाहिर बानेश्वर क्षेत्र भिडन्तस्थल बनेको थियो । सयौं कार्यकर्ता घाइते भएका थिए र दर्जनौ मुद्दाहरु खेप्नुपरेको थियो। एमसीसीको पक्षमा मतदान गर्ने बेलामा संसद्भित्र देखिएको आत्मसमर्पणवादी कुरुप परिदृश्य जनताका लागि निकै पीडादायी थियो । संसद र सरकारले पास गरेको भए पनि एमसीसीलाई जनताले मान्यता दिएका थिएनन्, छैनन् ।’
परियोजना कार्यान्वयनका लागि जमिन अधिग्रहणका विषयमा स्थानीयको गुनासो र आक्रोशको बेवास्ता गरिएकोमा नागरिकमा अझैपनि असन्तोष र आक्रोष व्याप्त रहेको विप्लवको भनाइ छ।