सत्तारुढ नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजनीतिक विश्लेषणको एकलौटी प्रवृत्तिमाथि कटाक्ष गरेका छन् । सामाजिक सञ्जाल एक्समामार्फत उनले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ‘पछिल्लो समय केही मानिसका राजनीतिक विश्लेषण, संश्लेषण र तिनको नित्य एकल भजन प्रतियोगिताको बजारीकरण देख्दा मलाई अचम्म लाग्छ ।’ नेता बाँस्कोटाले भनेका छन्, ‘ती, आफै प्रश्न छान्ने, जवाफ दिने, कपी काट्ने, रिजल्टमा आफ्नै जितको घोषणा गर्न सकिने प्रणालीको प्रयोगमा छन् । सिङ विनाका तिखेहरूले बुझे हुन्छ समाज र दल छुट्टै बाँच्दैन ।’
एमालेका नेता तथा पूर्वमन्त्री बाँस्कोटा पार्टीको संस्थापनसँग असन्तुष्ट सुनिन थालेका छन् । केही समययता बिम्बात्मकरूपमा पार्टीको संस्थापनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखिरहेका बास्कोटा विशेष गरी महासचिव शंकर पोखरेल, जनसंगठन इन्चार्ज भानुभक्त ढकाल, बागमती इन्चार्ज डा.राजन भट्टराईलगायतका नेताहरूको अभिव्यक्ति र कार्यशैलीको आलोचक देखिन्छन् ।
संसदमा पार्टी र सरकारको नेतृत्वको रक्षार्थ बोल्ने र जन जीविकाका सवालमा उत्तिकै आलोचना पनि गर्ने बाँस्कोटाले पार्टी सञ्चालन प्रक्रियामा भने आफ्नो गम्भीर विमति रहेको बताउँदै आएका छन् । उनले जनतासँग जोडिने व्यक्तिहरू पार्टीमा पाखा पारिँदै जाने कुराले अनुदारवाद हाबी हुने बताएका छन् ।
बाँस्कोटाले शुक्रबार बिहानै एक्स अकाउन्टबाट एउटा ट्वीट गरे । ‘कुनै बेलाको पुतलीसडकको चर्चित बेलाइनको खैरे स्याल फेरि लाइन दिँदै रे राजनीतिमा आजभोलि’ उनको यो एक लाइनको बतासे बुझ्नेहरू सीमित छन् ।
व्यक्ति र विषय नतोकी गोकुलले गरेको त्यो बतासे अर्थात व्यंग्य एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमप्रति लक्षित रहेको उनी निकट बताउँछन् । गौतमले प्रचार विभाग प्रमुखको हैसियतमा एमालेको एकपाखे लाइन दिन खोजेपछि उनको यो ट्वीटबाट बुझ्न सकिने निकट स्रोत बताउँछ ।
