Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

अचानक किन स्थगित भयो प्रचण्डले बोलाएको माओवादी पदाधिकारी बैठक?

प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक स्थगन गरिएको छ । बैठक आज (भदौ ८) बस्ने तय थियो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यस्तताका कारण बैठक स्थगन गरिएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भने, ‘आजका लागि बैठक तय भएको थियो, तर अध्यक्ष कमरेडको काम परेकाले स्थगित गरिएको हो । आगामी बैठकको मिति टुंगो लागेको छैन ।’ माओवादी केन्द्रको पदाधिकारी बैठक यसअघि पनि बारम्बार स्थगन गरिएको थियो । विभिन्न कारण देखाउँदै माओवादी पदाधिकारी बैठक बसेको छैन ।

पछिल्लो समय माओवादीभित्र प्रचण्डको नेतृत्वप्रति असन्तुष्टिका स्वर गुन्जिन थालेको छ । उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा खुलेरै प्रचण्डको नेतृत्वप्रति टिप्पणी गरेका थिए । त्यसयता अध्यक्ष र उपमहासचिवले विभिन्न कार्यक्रममा पनि खुलेरै एकार्काको टीकाटिप्पणी गरिरहेका छन् । केही नेताले नेतृत्वको कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।