१७ औँ संस्करणको ‘नाडा अटो शो २०२५’ मा उत्साहजनक सहभागिता भइरहेको छ । चार दिनमा अटो शो १ लाख ४ हजार ३ सय ४७ जनाले अवलोकन गरेको तथ्यांक छ । अवलोकनकर्ताहरु सवारी साधन खरिदका लागि आवश्यक पर्ने बैंकिङ लोन प्रक्रिया बुझ्न बैंकका स्टलहरुमा समेत झुम्मिएका छन् । सस्ता र आकर्षक व्याजदर एवम बैंकिङ प्रक्रियाबारे जिज्ञासा लिन अवलोकनकर्ताहरुले बढी चासो दिइरहेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता बढ्दै गइरहेपनि बैंक तथा वित्तीय संस्थाबीच सवारी कर्जा अर्थात अटो लोनको ब्याजदरमा समेत प्रतिस्पर्धा देखिन्छ । बैंकले अरुबेला अन्य क्षेत्रमा दिने लोन भन्दा सवारी कर्जा लोनमा केही छुट समेत दिइरहेका छन् ।
हिमालयन बैंककी अचल ढकाल बस्नेतले नाडा अटो शोमा विभिन्न बैंकको सवारी कर्जा ६ प्रतिशतबाट सुरु भएको बताउँछिन् । हिमालयन बैंकको बेसरेट ६.४८ रहेको उनले बताइन् । उनले प्रिमियम इभीमा ०.८ प्रतिशत लिएको जानकारी दिइन् । ‘अटो लोनमा इभी र नन–इभी भनेर दुई क्याटोगरी छुट्याइएको छ । नाडा अटो शो मा न्यूनतम प्राइसिङ भनेको विभिन्न बैंकको ६ प्रतिशतबाट स्टार्ट भएको छ । हिमालयन बैंकको बेस रेट ६.४८ हो । प्रिमियम इभीमा ०.८, लिइरहेका छौँ,’उनले भनिन् ।
उनले सवारी कर्जा अटो लोनमा नाडा स्पेशल भन्दै ओभरल प्याकेजिङ आठ बर्षका लागि राखिएको बताइन् । ‘लोन व्यक्तिगत र कम्पनी दुवैको नाममा लिने वा दिने गरिएको छ । इभी र नन–इभीको लागि सेप्रेट प्राइसिङ रेट राखिएको छ,’ उनले भनिन् । उनले भनिन् ‘ओभरअल याकेजिङ आठ बर्षको छ । र लोन प्रोसेसिङ फि भनेको ०.५ छ । आठ बर्षको प्याकेज नाडा अटो शो का लागि मात्र हो । अरू बेला आठ बर्ष दिने गरिएको छैन् । कागजात भनेको पर्सनल र कम्पनी दुवैको अनिवार्य हुन्छ ।’
त्यस्तै उनले पछिल्लो दुई बर्षमा ३०० बेसिस पोइन्टले तीन प्रतिशत बेसरेट घटेको बताइन् । अरू बैंकको बेस रेट बढ्ने क्रम भएतापनि हिमालयन बैकंको भने घट्ने क्रममा रहेको उनले बताइन् । नेपाल राष्ट्र बैंकको गाइडलाइन अनुसार नै काम भइरहेको उनले जानकारी दिइन् । त्यस्तै नाडा अटो शो को स्टलमा भेटिएका नबिल बैंकका विलिफ खनालले नाडालाई विशेष तार्गेट गरेर ६.७४ प्रतिशतमा अटो लोनमा फाइनान्सिङ गर्ने व्यवस्था मिलाइएको बताए ।
आम्दानीको स्रोत हेरेर लोन सात वर्षसम्मका लागि राखिएको भन्दै फिक्स रेट चाहेमा ८.२५ प्रतिशतमा लोन प्रवाह गर्न सकिने उनको दाबी छ । उनले कागजातमा आम्दानीको स्रोत प्राथमिकताका साथ हेर्ने गरेको पनि बताए । उनले अहिले अटो शो मा क्रेडिट कार्डको सुविधा, लाइफ टाइम फ्री स्किम नबिल बैंकले सार्वजनिक गरेको भन्दै सेभिङ एकाउन्टमा इन्ट्रेस्ट रेट पनि हायर रेटमा दिन सकिने बताए ।
अटो शोको अफरका रुपमा बैंकहरुले सेवा शुल्क ०.२५ प्रतिशत बिन्दुले घटाएको र ब्याजदर ६ देखि ८ प्रतिशतबीचमा प्रतिस्पर्धा गरेका छन् । निश्चित र चल्ती दुवै ब्याजदरमा कर्जा दिने बैंकहरुले बताएका छन् । अटो शोमा कृषि विवास बैंकले ६.२३ प्रतिशतमै सवारी कर्जा उपलब्ध गराउने जनाएको छ । बैंकले व्यक्तिगत विद्युतीय गाडीमा मूल्यको ६० र व्यावसायिक गाडीमा मूल्यको ८० प्रतिशतसम्म कर्जा दिने अटो लोन योजना ल्याएको छ । लक्ष्मी सनराइ बैंकले साता वर्षका लागि फिक्स्ड ७.९९ प्रतिशत ब्याजदरमा मूल्यको ६० प्रतिशतसम्म कर्जा दिने जनाएको छ भने ग्लोबल आइएमईले ६.९९ प्रतिशत ब्याजदर सवारी कर्जा दिने जनाएको छ ।
त्यस्तै सानिमा बैंकले सात वर्षका लागि फिक्स्ड ब्याजदर ८.१५ तोकेको छ । सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिएको छ । नेपाल एसबीआई बैंकले ७.९९ प्रतिशत ब्याजदरमा तीन वर्ष, ८.४९ प्रतिशतमा पाँच वर्ष र ८.९९ प्रतिशत ब्याज सात वर्षका लागि कर्जा उपलब्ध गराइने जनाएको छ । अटो शो मा फरक फरक प्रकृतिका सवारी साधनको खरिद फरक ब्याजदर तोकेका छन् । शो मा आधा दर्जन बैंकका स्टल छन् ।