Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

आदिवासी जनजातिका अग्रजहरूले कुनै एक जातजातिका लडेको होइन, देशका लागि होः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायका अग्रजहरूले कुनै एक जातजातिको लागि मात्रै नभइ सिङ्गो देशका लागि लडेको बताएका छन्।
 
नेपाली कांग्रेसको आदिवासी जनजाति विभागद्वारा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित आदिवासी जनजाति योद्धाहरू पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा उहाँले देशको राजनीतिक परिवर्तनका साथसाथै स्वतन्त्रता र समानताको लागि अग्रजहरूले लडेर ल्याएको उपलब्धिलाई सबैले समान रूपले उपभोग गर्न पाउने वातावरण तयार गर्नुपर्ने बताए ।
 
“तपाईंहरूको परिवारको आग्रज लडेको कुनै जातजातिको स्वतन्त्रताको लागि होइन, सिङ्गो नेपालको स्वतन्त्रताको लागि लडेको हो, सबै नेपालीको स्वतन्त्रता, समानता, प्रजातन्त्र र लोकतन्त्रको लागि लडेको हो, स्वतन्त्रता समानताको उपभोग सबै जातजातिले गर्न पाए मात्रै अर्थपूर्ण हुन्छ, त्यसैले हामीले लोकतन्त्रको विश्वव्यापी मान्यतासँगसँगै नेपालको विविधतालाई समेटेर जाने भनेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको अभ्यासमा छौँ, यसमा भएका गल्ती कमजोरीलाई हामीले सुधार गर्नुपर्छ”, उनले भने । 
 
नेता थापाले नेपालको राजनीतिमा स्थापित भएको आदिवासी जनजातिको, समावेशीकरणको  इतिहास कांग्रेसभित्रबाट नै सुरु भएको भन्दै विसं २०१५ देखि नै पार्टीको समितिदेखि आन्दोलन र मन्त्रिमण्डलसम्म समावेशी चरित्रको रहेको बताए । “अब हामीले देश बनाउछु भनेर लागेका नवजवानलाई प्रेरित गर्नुपर्छ, बाँकी रहेका कामलाई सम्पन्न गर्नुपर्छ, पार्टी निरन्तर पुस्तान्तरणमा चलिरहन्छ, नेपाल सधैँ रहन्छ, नेपाली कांग्रेस पनि निरन्तर चलिरहन्छ”, उनले भने । 
 
सहमहामन्त्री भीष्मराज आङ्दम्बेले विगतमा योगदान गर्ने व्यक्तिहरूका परिवारलाई भेला गरेर सिङ्गो इतिहासको सम्मान गरेकोमा विभागलाई धन्यवाद दिँदै यो कार्यले नेपाली कांग्रेसले जीवन्तता प्राप्त गरेको बताए ।
 
पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले इतिहास बनाउने व्यक्तित्वलाई सम्झिएर तयार पारिएको पुस्तकले वर्तमान र भविष्यलाई समेटेको बताए । उनले कांग्रेसले समृद्धिका लागि काम गर्न सक्छ भनेर आशा जगाउनुपर्नेमा जोड दिए । श्रेष्ठले आर्थिक समृद्धिका काम गरेर समाजमा व्याप्त नैराश्यता हटाउन सकिनेमा जोड दिए।
 
पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङले प्रजातन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा योगदान गर्नुहुने योद्धाहरूले गरेको योगदानको मूल्याङ्कन गर्दै लोकतन्त्र, आदिवासी जनजाति र पार्टीलाई एक बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
 
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको विरुद्धमा लाग्ने, भ्रष्टाचारमा लाग्नेलाई मत दिन नहुने भन्दै पार्टीका नेताहरूले आफ्नो पदका लागि गठबन्धन गर्नेभन्दा देश र जनताको लागि सोचेर राजनीतिक निर्णय गर्नुपर्नेमा जोड दिए। 
 
विभागका प्रमुख एवं केन्द्रीय सदस्य दिलमान पाख्रिनले भेदभाव अन्त्य गर्दै अल्पसङ्ख्यक र आदिवासी समुदायको हितमा कानुन बनाउन पार्टीले ध्यान दिनुपर्नेमा जोड दिए ।