Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

शिक्षक महासंघद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक, निजी स्कुल सञ्चालक सडकमा

शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दुबै आन्दोलित भएका छन्।

नेपाल शिक्षक महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। महासंघका अनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ। त्यसपछि भदौ ११ देखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टा प्रतिनिधिमूलक धर्ना दिइने कार्यक्रम छ। यस्तै, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा पनि ध्यानाकर्षण पत्र बुझाइने र दुई घण्टासम्म धर्ना दिइने महासंघले जनाएको छ।

यसैबीच, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले पनि आज देशव्यापी विरोध प्रदर्शन गरेको छ। शिक्षा विधेयकका प्रावधान निजी विद्यालयहरूको हितविपरीत रहेको भन्दै प्याब्सनले बिहान ११ बजेदेखि विद्यालयका सवारी साधनमा कालो ब्यानर टाँगेर प्रदर्शन गरेको हो। यस्ता सवारी साधनलाई प्रतिघण्टा २० किमि गतिमा नगर परिक्रमा गराइएको थियो। उपत्यकाभित्रका सबै विद्यालयका सवारी साधनले २७ किमि लामो चक्रपथमा कालो ब्यानरसहित परिक्रमा गरेका छन्।

त्यस्तै, आज दिउँसो १२:३० बजे माइतीघर मण्डलामा भेला भई सङ्घीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ।