काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच डिनर भेटवार्ता भएको छ । पोखराको लेकसाइडस्थित ‘त्रिसरा पोखरा’ रेस्टुरेन्टमा उनीहरुबीभ भेटवार्ता भएको हो ।
दुई मेयरको फोटो त्रिसराले आफ्नो फेसबुकमा सार्वजनिक गरेको छ । फेसबुकमा बालेन रेस्टुरेन्टमा आएका ग्राहकहरूसँगको फोटो तथा भिडियो पनि सार्वजनिक भएको छ । पोखरा महानगरपालिकाका प्रमुख आचार्य आफूहरूबीच मंगलबार अनौपचारिक भेट भएको जनाएका छन् ।
‘हामीबीच अनौपचारिक भेट भएको हो । उहाँ पोखरा आउनु भएको बेलामा भेटर त्रिसरामा सँगै डिनर गरेका हौं,’ आचार्यले सुनाए । बालेनले सरकारको नीतिबारे गुनासो गरेको आचार्यले सुनाएका छन् । बालेन शनिबार पोखरा गएका थिए ।
उनी पोखरा जाँदै गर्दा आफै गाडी चलाएको र तनहुँको आँबुखैरेनीमा कृष्ण अष्टमीको जात्रामा निस्किएका स्थानीयले फूल दिएको, बालेनले गाडीबाटै हात हल्लाएको तस्बिर÷भिडिओ सार्वजनिक भएको थियो । यस्तै पोखराकै बेगनाश तालमा डुंगा चलाइरहेको तस्बिर पनि बालेन आफैले शेयर गरेका थिए ।