Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी अनावरण

मधेश स्पोट्र्स प्रालिको आयोजनामा पोखरामा हुन लागेको एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगंजमा भव्य समारोहबीच अनावरण गरिएको छ ।

वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र मधेश युनाईटेडकी ब्रान्ड एम्बेसडर नीति शाहले संयुक्त रूपमा ट्रफीको अनावरण गरे । सो अवसरमा मेयर सिंहले लिगको फ्रेन्चाइज टिम मधेश युनाईटेडको नयाँ जर्सी सार्वजनिक गर्नुका साथै टिमकी मार्की प्लेयर निरुता ठगुन्नालाई जर्सी हस्तान्तरण समेत गरे ।

मधेश युनाईटेडका सञ्चालक शर्मिला थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मेयर सिंहले मधेशमा भलिबलको विकास र महिला सशक्तीकरणमा यसले उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले भने, “खेलले केवल मनोरञ्जन होइन, पहिचान, आत्मनिर्भरता र सामाजिक परिवर्तन ल्याउँछ ।“

कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक शाक्यले भलिबलको सामाजिक, मानसिक र भौतिक लाभबारे चर्चा गर्दै खेललाई हरेक वर्ष निरन्तरता दिनुपर्ने र मधेशमा यसको गतिविधि थप विस्तार गर्नुपर्नेमा जोड दिए।

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले भलिबल जस्ता खेलकुद कार्यक्रमले स्थानीय युवालाई सकारात्मक बाटो देखाउने र शहरको प्रतिष्ठा बढाउने बताए ।

मधेश युनाईटेडको स्थापना र उद्देश्यबारे सञ्चालक विशाल अग्रवालले प्रकाश पार्दै टिमले लिएको दीर्घकालीन दृष्टिकोणबारे जानकारी दिए । सञ्चालन प्रमुख खुशी शिवाकोटीले टिमको विगतको यात्रा, सिकाइ र आगतको योजनाबारे प्रस्तुति दिँदै भनिन्, 'हामी सुधार र प्रतिबद्धता सहित मैदानमा फर्किंदैछौं ।'

ब्रान्ड एम्बेसडर नीति शाहले मधेश युनाईटेडसँग आबद्ध हुन पाउँदा आफू सम्मानित र उत्साहित महसुस गरेको र खेलकुद, महिला सशक्तीकरण र पहिचानको लागि यो टिम एउटा उत्कृष्ट उदाहरण रहेको बताइन्। मार्की प्लेयर निरुता ठगुन्नाले नयाँ जोश, उत्साह र आत्मविश्वासका साथ ट्रफी मधेशमै ल्याउने संकल्प व्यक्त गरिन् ।

गत वर्षको अनुभव र कमजोरीलाई सुधार्दै यसपटक मधेश युनाईटेडले नेदरल्याण्डका तीनजना प्रसिद्ध अन्तर्राष्ट्रिय खेलाडीलाई अनुबन्धन गर्दै बलियो टिम निर्माण गरेको सञ्चालन प्रमुख शिवाकोटीले जानकारी दिइन् ।  

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली सेना श्रीजंग गणका प्रमुख सेनानी लोकेन्द्र कार्की, अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुङ्गेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत टिकाराज चौलागाईं, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.सुवोध कुमार गुप्ता, मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेशप्रसाद लाठ, वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष अनिल अग्रवाल, पूर्व अध्यक्ष गोपाल केडिया लगायतको उपस्थिति रहेको थियो ।