प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल कन्क्लेभ २०२५ को पावर संवादमा बोल्दै आफूले एआई प्रविधिको भरपुर उपयोग गरिरहेको बताए ।
‘म च्याटजीपीटी चलाउँछु, यसले सबै कुरा भन्दिहाल्छ,’ उनले भने । तर, उनले बालबालिकालाई मोबाइलको लतबाट जोगाउनुपर्नेमा जोड दिए ।
‘मोबाइलमा गेम खेल्ने बानीले बालबालिकालाई सिर्जनात्मक कामबाट टाढा राख्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले युवाहरूलाई प्रविधिको उपयोगमा प्रोत्साहन गर्नुपर्ने बताए ।
सरकारले हालै मन्त्रिपरिषदबाट एआईसम्बन्धी नीति पारित गरेको उनले जानकारी दिए । ‘म टेक्निकल व्यक्ति होइन, तर हामीले एआई र आईसीटीलाई अघि बढाउने नीति बनाएका छौँ,’ उनले भने । उनले मानव मस्तिष्कको क्षमतालाई कुनै प्रविधिले जित्न नसक्ने दाबी गरे ।
‘एआईसँग कोही डराउँछन्, तर मानव मस्तिष्कलाई कसैले हराउन सक्दैन,’ उनले भने । नयाँ पुस्ता प्रतिभाशाली रहेको र अवसर पाएमा उत्कृष्ट काम गर्न सक्ने उनको विश्वास छ । सरकारले यस्ता प्रतिभालाई पूर्ण समर्थन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।