Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

एमसीए नेपालद्वारा २१ अर्ब ६३ करोडको विद्युत प्रसारण लाइन निर्माण सम्झौता

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए) नेपालले १५ करोड ४५ लाख अमेरिकी डलर (२१ अर्ब ६३ करोड रुपैयाँ) को प्रसारण लाइन निर्माण सम्झौता गरेको छ । आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रममा एमसीए नेपाल र निर्माण पक्षबीच सम्झौता भएको हो ।

संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट पुनः सक्रिय भएको हो ।

जसअनुसार एमसीए नेपालले नेपाल र संयुक्त राज्य अमेरिका सरकारको संयुक्त लगानीमा सञ्चालित कम्प्याक्टको विद्युत् प्रसारण आयोजनालाई अगाडि बढाउने क्रममा आज दुई प्रमुख सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालमा सञ्चालन भइरहेका रूपान्तरणकारी पूर्वाधार निर्माणसम्बन्धी आयोजनाका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको एमसीए नेपालले जनाएको छ ।

जसअनुसार एमसीए नेपालले रातमाटे– नयाँ दमौली प्रसारण लाइनको निर्माण सम्झौता एञ्जेलिक स्किपर जेभी (संयुक्त उपक्रम)सँग र नयाँ दमौली– नयाँ बुटवल प्रसारण लाइन निर्माण सम्झौता वाइबा सलासर जेभी (संयुक्त उपक्रम) सँग गरेको हो ।

अर्थ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, एमसीसीका कार्यवाहक उपाध्यक्ष, एमसीसी आवासीय राष्ट्रिय नियोगका प्रतिनिधिहरू, अमेरिकी दूतावासका अधिकारीहरूको उपस्थितिमा एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र दुई कम्पनीका प्रतिनिधिहरूले बिहीबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापत्रमा दुवै प्रसारण लाइन निर्माणको काम ४२ महिनाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ । संयुक्त लागत १५.४५ करोड अमेरिकी डलर (करिब साढे २१ अर्ब नेपाली रुपैयाँ) रहेका यी सम्झौता अन्तर्गत १८० किमि लामो ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण र सञ्चालनलगायतका काम हुनेछ ।

एमसीए नेपालका सञ्चालक समितिका अध्यक्ष एंव अर्थ सचिव घनश्याम उपाध्यायले प्रसारण लाइन र सवस्टेशन निर्माणसम्बन्धी नेपाल सरकारको योजनालाई कार्यान्वयन गर्न अमेरिकी सरकारबाट प्राप्त आर्थिक सहयोग निकै महत्वपूर्ण रहेको बताएका छन् । यस कार्यक्रमका लागि नेपाल सरकारले पनि निरन्तर रुपमा सहयोग गरेर समयमै आयोजना सम्पन्न गर्नका लागि लागि पर्ने उनले बताए । नेपालको उर्जा क्षेत्रको विकास र विस्तारका क्रममा यी प्रसारण लाइन कोशेढुंगा सावित हुने उनको भनाइ थियो ।

नेपाल सरकारले नेपाल र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसनको सह–लगानीमा कार्यान्वयन गरिने कार्यक्रमको जिम्मेवार निकायका रूपमा विकास समिति ऐन, २०१३ अन्तर्गत २०७५ साल वैशाख ५ गते एमसिए–नेपाल स्थापना गरेको हो ।

‘आज भएको निर्माण सम्झौता एउटा उपलब्धि मात्र नभई नेपालको विकास र समृद्धिप्रति संयुक्त राज्य अमेरिकाको स्थायी प्रतिबद्धताको मूर्त प्रतीक हो,’ नेपालस्थित अमेरिकी दूतावासका नियोग उप–प्रमुख जेसन मीक्सले भने, ‘यस साझेदारीमार्फत हामी विद्युत् प्रसारण लाइन र आर्थिक पूर्वाधार मात्र निर्माण गरिरहेका छैनौं, नेपालको दीर्घकालीन विकासलाई पनि तीव्र पारिरहेका छौं ।’

एमसीए नेपालका कार्यकारी निर्देशक विष्टले भने, ‘कम्प्याक्टलाई अघि बढाउन अमेरिकी सरकारबाट भइरहेको निरन्तर सहयोग र पछिल्लो अनुमतिको हामी सराहना गर्छौं । आजको यो महत्वपूर्ण उपलब्धिमा यस राष्ट्रिय गौरव आयोजनाप्रति नेपाल सरकार र सबै सरोकारवालाको साझा प्रतिबद्धता प्रतिविम्बित भएको छ ।’ । एमसीए नेपालले दिगो सहकार्य गर्दै आयोजना अन्तरगतका कार्यक्रम सफल निर्माण तथा कार्यान्वयनमा केन्द्रित रहने विष्टले बताए ।

एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण निर्माण गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि गरिएको ६९ करोड ७० लाख डलरको लगानी ऐतिहासिक भएको बताइएको छ । जसअन्तर्गत विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तरआवद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्‍याउन एमसीसी नेपाल कम्प्याक्ट तयार रहेको जनाइएको छ ।