Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

रामहरि खतिवडाले बुझाए राजीनामा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरे समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि उनले राजीनामा दिएका हुन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख सचेतक महेश बर्तौलालाई साक्षी राखेर उनले राजीनामा पत्र बुझाएका हुन् ।

‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु’ खतिवडाले पत्रमा लेखेका छन् ।

उनले हिजो भनेका थिए, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारीबोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु ।’

ramhari-rajinama.jpg