Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

संसदमा गृहमन्त्रीलाई रास्वपाको प्रश्नः जीबी राईलाई कहाँ लुकाइएको छ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगीका मुख्य आरोपित जीबी राई किन पक्राउ नपरेको भन्दै सरकारलाई प्रश्न गरेको छ । आज (बुधबार) प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका हुन् ।

‘जीबी राईलाई कहाँ लुकाइएको छ ?’ सांसद चौधरीले गृहमन्त्री लेखकलाई सोधे, ‘कति महिना भयो गृहमन्त्री भएको ? जीबी राई घरभित्र छन् कि सत्ताको ओढारभित्र ?’ सांसद चौधरीले गिरिबन्धु टी–स्टेटको विषय, नक्कली भुटानी शरणार्थी प्रकरणको विषय समेत कहाँ पुग्यो भनेर गृहमन्त्री लेखकलाई प्रश्न गरेका छन् । ‘गिरिबन्धु टी–स्टेटको फाइल कहाँ हरायो ? के यो फाइलले पनि राजनीतिक पासपोर्ट पायो ?’ चौधरीले सोधे, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाको बयान कहाँ पुग्यो ?’

थारू भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न माग
रास्वपाले थारु भाषालाई कोशी प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न माग गरेको छ । सांसद चौधरीले प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय लिएर यस्तो माग गरेका हुन् ।

‘थारू भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा तत्काल समावेश गर्न कोशी प्रदेश सरकारसँग जोडदार माग गर्दछु’, उनले भने ।