Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

महालक्ष्मी बैंकको तीन करोड हिनामिना : पूर्व प्रबन्धकसहित चार कर्मचारी पक्राउ

महालक्ष्मी बैंकको झण्डै तीन करोड हिनामिना आरोपमा पूर्व प्रबन्धकसहित चार कर्मचारी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तत्कालीन शाखा प्रवन्धक डोटी घर भई कैलालीको भजनी नगरपालिका–७ बस्ते ३५ वर्षीय सागर शाही, शैल्यशिखर–९ घर भई नगद विभागमा काम गर्ने २९ वर्षीया निर्मला साउद, बैतडीको पुर्चौडी नगरपालिका–३ घर भई ग्राहक सहायता कक्षमा कार्यरत २८ वर्षीय अम्बादत्त पन्त र दार्चुलाको लेकम गाउँपालिका–१ घर भई बैंकको कर्जा विभागमा कार्यरत ३१ वर्षीय धनन्जय पन्त छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित शाखा कार्यालयबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैया २९ पैसा नोक्सानी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुले बैंकको भल्टमा रहेको नगद गैरकानुनी रफमा भुक्तानी लिएर बैंकलाई नोक्सानी पुर्‍याएको आरोप छ ।

चार कर्मचारीको मिलेमतोमा बैंकलाई नोक्सानी पुर्‍याइएको भनी जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गराई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।