Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मुलुकमा अर्को सडक क्रान्तिकाे खाँचो छ, मैले नै नेतृत्व गर्छु : प्रचण्ड

‘विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो’

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा अर्को सडक क्रान्ति आवश्यक भएको बताएका छन् । उनले सो सडक क्रान्तिको आफूले नै नेतृत्व गर्ने बताएका छन् । अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक संवाद कार्यक्रममा उनले अर्को ठूलो क्रान्ति नभएसम्म मुलुकको गुणात्मक विकास नहुने दावी गरे ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता स्थापना भए पनि म नयाँ आन्दोलनको नेतृत्व गर्छु भनेर जनतामाझ गएको छु,’ उनले भने, ‘नयाँ क्रान्ति आवश्यक छ । अर्को क्रान्ति चाहिएकै छ नेपालमा । मैले सशस्त्र क्रान्ति भनेको होइन । सडकबाट एउटा ठूलो क्रान्ति नभएसम्म यिनको दिमागमा छिर्ने देखिएको छैन ।’

उनले देशको कर्मचारीतन्त्र, न्यायालय रूपान्तरण आवश्यक भएको बताएका छन् । ‘देशलाई गुणात्मक ढंगले अघि बढाउन व्यूरोक्रेसीमा, जुडिसियरीमा र पुराना पार्टीको दिमागमा क्रान्ति ल्याउन सकेका छैनौँ,’ उनले भने, ‘हामीले परम्पराका सांगला तोड्न बाँकी छ ।’

RS_KTM-RATL1913(2).jpg

अध्यक्ष ‘प्रचण्ड’ ले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् । प्रचण्डले एमाले नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओली विधेयकको विरुद्धमा गएकाले सदनमा पेश हुन ढिलाइ भएको बताए । उनले भने, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रीत्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओलीजी नै त्यसको विरुद्ध गएकाले ढिलो भएको हो । त्यसमा कोही भ्रममा नपरौं ।’

आफूहरूले शिक्षक र विद्यार्थीको पक्षमा बोलिरहँदा प्रधानमन्त्री ओली शिक्षकहरूलाई किन सुविधा दिने भनेर गालीगलौज गरेको उनले बताए । ‘हामी जनताको घरदैलोमा अभियान लिएर जाँदै गर्दा, हामीले शिक्षकहरूको पक्षमा, विद्यार्थीको पक्षमा, विद्यालय शिक्षा विधेयकको पक्षमा बोल्दै गर्दा शिक्षकहरूलाई गाली गरेर किन चाहियो यिनीहरूलाई सुविधा भनेर गाली गर्ने प्रधानमन्त्री उहाँ नै होइन ?, त्यही कारणले रोकिएको छ, उहाँ ढाँटछल गर्न धेरै सिपालु हुनुहुन्छ तर शिक्षामा सुधार गर्ने कुरामा ध्यान छैन, उहाँहरू नीजिकरणतिर हुनुहुन्छ, सार्वजनिक शिक्षाको पक्षमा हुनुहुन्न ।’

असार १५ मै पारित गर्ने भनिएको विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकिएको उनको आरोप छ । उनले सबै दल र नेता एकैखाले हुन् भन्ने भाष्य बनाइएको खण्डन गर्दै माओवादी सार्वजिक शिक्षा सुधारको पक्षमा रहेको जिकिर गरे ।