Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मदन भण्डारीको चुनाव प्रचार–प्रसार गर्ने घरमा विद्याको सम्पर्क कार्यालय

सत्तारुढ नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारी समूहले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेको छ । मदन भण्डरीको ७५ औं हिरक जयन्ती मनाउनका लागि सम्पर्क कार्यालय खुलेको उक्त समूहले जनाएको छ ।

विद्या भण्डारीकै अगुवाइमा मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन ‘जननेता मदन भण्डारी ७५औं जन्म जयन्ती मूल व्यवस्थापन समिति’ समेत गठन भएपछि त्यसको सम्पर्क कार्यालय खुलेको हो । विगतमा मदन भण्डारीले चुनाव प्रचार प्रसार गर्नका लागि खोलेको घरमा नै अहिले सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

‘०४८ सालमा मदन भण्डारीले काठमाडौँमा निर्वाचन लड्दा जुन घरलाई प्रचारप्रसारको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्नुभएको थियो, त्यही घर अहिले भाडामा लिएर राजनीतिक गतिविधि गर्न लागिएको हो’, विद्या भण्डारीसँग नजिक एक नेताले भने ।

एमालेले विद्या भण्डारीलाई पार्टी सदस्यबाट अलग राख्ने निर्णय गरे पनि राजनीतिक यात्रा कायम रहेको बताउँदै भण्डारीले कार्यकर्ताहरुसँगको सम्पर्क भने बढाउँदै लगेकी छन् । यस्तो अवस्थामा भण्डारी निकटका नेताहरू विधान महाधिवेशनमा छुट्टै दस्तावेज पेश गर्ने र त्यसको छलफलका लागि पनि छुट्टै घर लिएर कार्यालय सञ्चालन गरिएको ती नेताले जनाएका छन् ।